काठमाडौ । नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सक्रिय व्यक्तिहरुले नवीकरणीय ऊर्जा लगानी कम्पनी बनाउने भएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीलाई विदाई गर्न सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को नेतृत्वमा नवीकरणीय ऊर्जामा क्रियाशील संघसंस्थाले आयोजना गरेको कार्यक्रममा उनीहरुले सौर्य (सोलार), बायो ग्याँस, लघु जलविद्युत मिनि ग्रिड लगायतका परियोजनाका लागि कम्पनी बनाउन लागेको बताएका थिए । परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा सक्रिय सबैको सहभागितामा कम्पनी स्थापना गर्ने र यसका लागि तत्काल पहल सुरु गर्ने बताए ।
कार्यकारी निर्देशक अधिकारीले साना सोलार, वायोग्याँस, लघु जलविद्युत लगायत हराएर जाने हुनाले ठूला किसिमका परियोजनाहरु निर्माणका लागि एउटा कम्पनी निर्माण गरेर अघि बढ्नुपर्ने र त्यसका लागि आफू पनि सहभागी हुने बताएका थिए ।
‘जलविद्युतको समय सकिदैछ, प्रर्वद्धन केन्द्रलाई ऊर्जा मन्त्रालयमा ल्याउनु गलत’
चार बर्षे कार्यकाल सकिएका प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक अधिकारीले जलविद्युतको समय सकिन लागेको बताए । ‘४/५ बर्षपछि जलविद्युतको समय सकिदैछ, अब यसको ठाउँ हाइड्रोजन सोलारले लिन्छ ।’ उनले भने, ‘नवीकरणीय ऊर्जाको विकासमा भने निरन्तर लागिरहनुपर्छ, यसका लागि तपाईहरु सामुहिक रुपमा सहकार्य गर्नुस ।’
उनले वातावरण मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा ल्याउनु गलत रहेको आफ्नो विश्लेषण रहेको बताए । ऊर्जा मन्त्रालयको प्राथमिकता जलविद्युत मात्र रहेको बताउँदै उनले वैकल्पिक ऊर्जाका प्रविधिको लागि सबैले एक साथ लाग्नुपर्ने बताए । उनले ऊर्जा मन्त्रालय ऊर्जा क्षेत्रको मन्त्रालय बन्न नसकेको पनि बताए ।
आफू कार्यकारी निर्देशक हुँदा नवीकरणीय ऊर्जाका लागि धेरै पहल गरेको तथा यही क्षेत्रमा रहने भएकोले आगामी दिनमा पनि निरन्तर रुपमा लाग्ने बताए । आफ्नो कार्यकालमा नवीकरणीय ऊर्जा सम्बन्धी विद्येयकलाई मन्त्री परिषदमा पुर्याएको पनि बताए ।