Nepal Purbadhar

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न पर्यटक यातायात व्यवसायी संघको आग्रह


गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) गण्डकी प्रदेशको चौथो वार्षिक साधारणसभामा पर्यटन व्यवसायलाई थप प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ।

कोरोना कहरलगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवं व्यवहार आवश्यक भएको बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलगायतले थप समस्यामा पारेको बताए।

चर्को ब्याजदरले व्यवसायी मारमा परिरहेको बताउँदै उनले ब्यजादर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको बताए।

संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औँल्याए।

संघका गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको बताए। पुराना सवारीसाधनलाई इलेक्ट्रिक मोडलमा रुपान्तरण गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

एनटिभीए गण्डकीका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त वैज्ञानिक ढंगले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गरे। कार्यक्रममा एनटिभीए गण्डकीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गादत्त दाहाल, सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष केदारनाथ शर्मा, विकास कँडेल, जनक कार्कीलगायतले बोलेका थिए।

साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कँडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ।

Facebook Comments

Read Previous

म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र

Read Next

सञ्चारमन्त्री शर्माद्वारा नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar