Nepal Purbadhar

तामाकोसीको सुख्खा यामकाे विद्युत उत्पादनमा सघाउने रोल्वालिङ आयोजनाको काम अघि बढ्यो


काठमाडौं । देशकै ठूलाे ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी अर्धजलाशय जलविद्युत आयाेजनाकाे प्रवर्द्धक अप्पर तामाकाेसी हाइड्राेपावर कम्पनीले नै प्रवर्द्धन गर्ने २०.६ मेगावाटकाे राेल्वालिङ खाेला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेकाे छ । दाेलखाकाे गाैरीशंकर गाउँपालिकाकाे वडा नम्बर–९ मा संरचना रहने याे आयोजनाको निर्माण प्रक्रिया अघि बढेकाे हाे ।

प्रवर्द्धक कम्पनीले आयाेजनाकाे निर्माण प्रक्रिया अघि बढाउँदै उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिएकाे छ । याे आयोजना नदीकाे प्रवाहमा आधारित हुनेछ ।

आयोजनाकाे डिजाइन बहाव १३.४ घनमिटर प्रतिसेकेण्ड रहने गरी डिजाइन गरिएकाे छ। आयोजनाको कूल हेड २०७ मिटर छ। आयोजना निर्माण हुँदा वार्षिक १०५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।

यस्तै, डाइभर्सन स्किमबाट वार्षिक २१६ गिगावाट घण्टा विद्युत उत्पादन गर्न सम्भव हुनेछ। आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा निर्माण गरिनेछ । रोल्वालिङ खोलामा बाँध बाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ विद्युतगृहमा पठाएर विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट विद्युत उत्पादनका गर्न खोलाको पानी फर्काउन ४२ मिटर लामो र ४ मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ। विद्युतगृहमा २ वटा उत्पादन युनिट राखिनेछ । विद्युत उत्पादनपछि निस्केको पानीलाई ७४० मिटर लामो निकास सुरुङमार्फत माथिल्लो तामाकोसीको जलाशयमा खसालिनेछ।

याे आयोजनालाई अहिले सञ्चालनमा रहेकाे ४५६ मेगावाटकाे देशकै ठूलाे माथिल्लो तामाकोसीको सहायक आयोजनाको रूपमा निर्माण गर्न लागिएकाे हाे । राेल्वालिङबाट विद्युत उत्पादन भई निकास हुने पानी माथिल्लाे तामाकाेसीकाे बाँधमा खसाल्ने गरी संरचना निर्माण गरिनेछ । राेल्वालिङकाे पानी थपिँदा तामाकाेसीले सुख्खा याममा पिक आवरमा थप एक घन्टा ४५६ मेगावाट विद्युत प्रसारण प्रणालीमा दिनेछ ।

विद्युतगृहबाट उत्पादित विद्यु ८.४ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरी बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसीकाे २२०/३३ केभी स्वीचयार्डमा लगेर जाेडिनेछ।

आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयाेजनाकाे संरचनाकाे निर्माण सुरु गर्न सिभिलतर्फकाे ठेकेदार छनाेट भइसकेकाे छ । आयोजनाको अध्ययान तथा डिजाइनकाे काम नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो।

Facebook Comments

Read Previous

दुई लघुवित्तले घोषणा गरे लाभांश

Read Next

तनहुँ जलविद्युत आयोजना : प्रवेश सुरुङको ‘ब्रेक थ्रु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar