काठमाडौं । सन् २०२३ मा विश्व मुद्रास्फीति दर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ।
‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यस वर्ष पनि विश्व मुद्रास्फीति दर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ।
सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीति दर सन् २०२३ मा ६.६ प्रतिशत र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ।
विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ। अस्तव्यस्त आपूर्ति शृङ्खला, महङ्गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ। रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आइएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ।
कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीति दर औसत ३.५ प्रतिशत बराबर मात्रै थियो। तर पछिल्ला वर्षहरूमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा ९.९ प्रतिशतसम्म पुगेको छ। चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरू बढी प्रभावित भएको आइएमएफले जनाएको छ।
ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरूमा सन् २०२२ मा औसत ७.३ प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा ४.६ प्रतिशत रहने अनुमान छ।
उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरूमा सन् २०२२ मा ९.९ प्रतिशतसम्म पुगेको मुद्रास्फीति दर सन् २०२३ मा ८.१ प्रतिशत रहने प्रक्षेपण छ।
त्यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरूमा सन् २०२२ मा १४ दशमलव दुई प्रतिशतसम्म पुगेको मुद्रास्फीति दर ८.८ प्रतिशत रहने अनुमान गरिएको छ।
चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रूपमा देखिएको छ। आइएमएफका अनुसार सन् २०२२ मा विश्व आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने अनुमान छ। त्यस्तै, सन् २०२३ मा २.९ र सन् २०२४ मा ३.१ प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ।
केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा ५.१ र २०२३/२४ मा ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।
ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनले पनि रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा उल्लेख गरेको छ। त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ।
सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदर पछि यसवर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
‘सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो,’ प्रतिवेदनमा भनिएको छ।