Nepal Purbadhar

सिँचाइ कुलो निर्माणले किसान खुसी


दिपायल । दिपायल–बडीकेदार गाउँपालिका–५ धमिगाउँमा चिम्टे सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन्। वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले कुलोबाट पानी आउन थालेपछि यहाँका किसान खुसी भएका हुन्। सिँचाइको अभावमा आकाशे पानीको भरमा किसानले खेती गर्दै आएका थिए।

धामिगाउँवासीले पहिलो पटक सुविधा पाएपछि सिँचाइको उपयोग गर्न थालेका छन्। गाउँपालिकाको आर्थिक सहयोगमा करिब एक सय २० मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको स्थानीयवासी बमबहादुर चन्दले जानकारी दिए। उनका अनुसार गाउँपालिकाबाट सिँचाइ कुलो निर्माण गर्न करिब दुई लाख रुपैयाँ लगानी भएको थियो।

सिँचाइ कुलो निर्माण भएपछि करिब नौ सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकाले उत्पादनसमेत वृद्धि हुने अर्का स्थानीयवासी पदम चिमालाले बताए। यसबाट करिब दुई सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष हर्क नेपालीको भनाइ थियो।

‘वर्षौँदेखि बाँझो रहेको जमिनमा खेती लगाउन सहज हुने भएको छ,’ उनले भने, ‘यस क्षेत्रका किसानले थप बाध निर्माण र सिँचाइ कुलोलाई पक्की गराउन थप बजेटमाग गरेका छन्।’

गाउँपालिकाले जनताका आवश्यक माग सम्बोधन गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए। पालिकाबाट हरेका वडाका नागरिकको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, कृषिलगायत क्षेत्रमा आवश्यक योजना बनाइने र सबै क्षेत्रका समस्या समधान गर्न स्थानीय सरकारको निर्माण भएको अध्यक्ष साउदले बताए। पालिकाभित्र रहेको खेतीयोग्य जमिनमा किसानलाई अनुदान कार्यक्रममार्फत विभिन्न योजना बानाइ आत्मार्निभर बनाइने गाउँपालिकाले जनाएको छ।

Facebook Comments

Read Previous

राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीइओ श्रेष्ठ

Read Next

निर्माणकार्य अलपत्र पार्ने ७ कम्पनीलाई स्पष्टीकरण सोधियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar