Nepal Purbadhar

प्रहरी नियन्त्रणमा रहेका बेवारिसे सवारी साधन जीर्ण बन्दै


सोलुखुम्बु । सोलुखुम्बमा वर्षौँदेखि प्रहरी नियन्त्रणमा रहेका एक दर्जन बेवारिसे सवारी साधन जीर्ण बन्दै गएका छन् । जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको एउटा बोलेरो गाडि र मोटरसाइकल गरी १२ सवारी साधन चार वर्षदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ती सवारी साधनका कुनै पनि कागजात नभएको र वर्षौँदेखि सवारी धनीसमेत सम्पर्कमा आएका छैनन् । लामो समय प्रहरी कार्यालयको खुल्ला स्थानमा राखिँदा उक्त सवारीसाधन काम नलाग्ने अवस्थामा पुगिसकेका छन्।

मोटरसाइकलका अधिकांश भाग घामपानीले काम नलाग्ने अवस्थामा पुगिसेका छन् । कार्यालयले लिलाम बिक्री गरी सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताइएको छ।

कार्यालय परिसरमा १२ बेवारिसेसहित अन्य ३२ वटा कागजात चुस्तदुरुस्त नभएका सवारी साधन पनि वर्षौँदेखि थन्किएका छन् । ट्राफिक जाँचका क्रममा चार वर्ष अघिदेखि समातिएका सवारी साधन लिन नआउँदा ती पनि कवाडमा परिणत भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Read Previous

पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट गरिने

Read Next

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो