झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ ।
भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो ।
प्रदेश नं १ सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडकको बाँकी दुई किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए ।
पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा–विर्तामोड–चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा–चारआली–चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ ।
मेचीनगर–१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताए । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विसं २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी २५ करोड ३२ लाख ८४ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेको थिएन ।
प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिए । ‘कल्भर्टमा काम भइरहेको छ,’ उनले भने, ‘काम द्रुतगतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णरूपमा निर्माण भइसक्छ ।’
रोङ जोड्ने सडक निर्माण सुस्त
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको विसं २०७५ मा शिलान्यास गरेका थिए। भद्रपुर नगरपालिकाबाट इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेनको सडकको दुईवटा अलग–अलग निर्माण कम्पनीले ठेक्का लिएका थिए ।
ठेक्का लिएका कम्पनीमध्ये हिम्डुङ एण्ड थोकर सरोज जेभीले धुलाबारी चोकबाट भद्रपुरसम्मको सडक निर्माणकार्य अन्तिम चरणमा पुर्याएको छ भने धुलाबारी मोडबाट उत्तर रोङ गाउँपालिकासम्मको २६ किलोमिटर सडकको निर्माण भने सुस्त गतिमा भइरहेको प्रमुख श्रेष्ठको भनाइ छ । इलामको रोङ जोड्ने सो सडक ४६ करोड २३ लाख ८२ हजार नौ सय ८३ रुपैयाँमा सम्पन्न गर्ने गरी विर्तामोडको कनकाई झापाली जेभीले ठेक्का लिएको छ ।
सडक निर्माणसँगै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकाशिने प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले बताए । उनले पूर्वीनाकाबाट नेपाल प्रवेश गरेर भद्रपुर विमानस्थल हुँदै देशका विभिन्न स्थानमा जाने विदेशी पर्यटकलाई समेत सहज भएको बताए।
हँडियामा नयाँ पुलको खाँचो
यस सडकको मेचीनगर र भद्रपुर सीमामा पर्ने हँडिया खोलामा नयाँ पुलको आवश्यकता देखिएको छ । एक दशकअघि निर्मित एक लेनको उक्त पुल जीर्ण र साँघुरो भइसकेको छ । पुलको रेलिङ भत्किएका छन् भने दक्षिणतर्फ पुलको मुखमा ठूलो भ्वाङ परेको छ ।
दुईवटा सवारीसाधन ओहोरदोहोर हुन नसक्ने साँघुरो पुलको मुखैमा भ्वाङ परेपछि कुनै पनि बेला त्यहाँ दुर्घटना निम्तिने जोखिम बढेको स्थानीय बताउँछन् । तर भ्वाङ टाल्नेतर्फ कसैको ध्यान जानसकेको छैन । दुई लेनको सडक कालोपत्र भइसकेको अवस्थामा हँडिया खोलाको पुल पनि दुई लेनको हुनुपर्ने भद्रपुर–९ का पूर्व जनप्रतिनिधि कम्पलाल राजवंशीले बताए । रासस