म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ६ मेगावाटकाे रेलेखाेला जलविद्युत आयोजना ५० प्रतिशत पूरा भएकाे छ । संरचनाकाे निर्माण थालेकाे १ वर्षमा नै आयोजनाकाे आधा काम सकिएकाे हाे ।
आयोजनाकाे प्रवर्द्धक ह्युम कन्सल्ट प्रालिले बाँकी ५० प्रतिशत काम पनि आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण तीव्र पारेकाे छ । सिभिलतर्फ आयोजनाकाे बाँध, पाइपलाइन र विद्युतगृहकाे काम धमाधम भइरहेकाे आयोजनाका आयोजनाका इञ्जिनीयर आयुश भट्टराईले बताए । उनका अनुसार इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारण लाइन निर्माणकाे काम पनि सँगसँगै अघि बढाइएको छ ।
सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँधको आधा काम सकेको छ । बाँध नजिकै ५०/५० मिटर लामा दुई पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माणको काम अन्तिम चरणमा छ । बाँधदेखि विद्युतगृहसम्म ३.६ किलाेमिटर लामाे पाइपलाइन जडानको काम सुरु भएको छ ।
बाँधमा पुग्ने पहुँचमार्गको कुनातर्फ पाइपलाइन राख्ने ठाउँ बनाइएको छ । रेलेखर्कमा जग्गा व्यवस्थापनको काम सकेर विद्युत्गृहको संरचना निर्माण थालिएको छ । विद्युतगृहदेखि दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका आवासीय इञ्जिनीयर लोकबहादुर नायकले बताए । ।
डोजर, ब्याकुहोलोडरलगायत उपकरणका अतिरिक्त दैनिक एक सय ३० मजदूर र ४० भन्दा बढी प्राविधिक तथा कर्मचारी आयोजना निर्माणमा परिचालन भएका छन् । सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर ५ सय ५ मिटर माथिबाट विद्युतगृहमा खसालिने छ ।
आयोजनाले तीन वर्ष लगाएर नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ हुँदै बाँध र रेलेखर्कस्थित विद्युतगृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण गरेको थियो । छहरा, हकनी र गाैँडाका पहाड फुटाएर करिब एक किलोमिटर दूरीमा ११ वटा घुम्तीको सडक बनाइएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।
रेलेखोलाले पहुँचमार्ग बनाएपछि एक सय ५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालमा जोडिएको छ । यसअघि स्थानीय, तत्कालीन जिविस र गाउँपालिकाले एक करोड रुपैयाँ बढी खर्च गरेपनि बेँशीदेखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।
वडा सदस्य श्याम पुर्जाले बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकामा अहिले २० मिनेटमै पुग्न सकिने बताउनुभयो । प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको रेलेखोलामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । ऋणमध्येकाे ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेको छ ।
नारच्याङमा हाल २ मेगावाटको तातोपानी साना, ४२ मेगावाट क्षमताको मिस्ट्री खाेला र ५ मेगावाटको घलेम्दीखोला जलविद्युत आयोजना सञ्चालनमा रहेकाे वडा अध्यक्ष लोकबहादुर फगामीले बताए । १ सय १० मेगावाटको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा छन् ।
९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।
माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युतगृह निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको मिस्ट्रीखाेला-२ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।