Nepal Purbadhar

विद्युत निर्यात हुने जलविद्युत केन्द्रको संख्या १० पुग्यो, काबेली ‘बी’-१ र तल्लो मोदीलाई पनि अनुमति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ जलविद्युत केन्द्रको थप ४३.६५ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्ने अनमुति पाएको छ । प्राधिकरणले निजी लगानीमा निर्माण भएको काबेली ‘बी’–१ र तल्लो मोदी जलविद्युत केन्द्रको विद्युत निर्यात गर्ने अनुमति पाएको हो ।

पाँचथरस्थित २५ मेगावाटको काबेली ‘बी’–१ को २४.२५ र २० मेगावाटको तल्लो मोदीको १९.४ मेगावाट विद्युत निर्यात गर्न भारतले अनुमति दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी २ जलविद्युत केन्द्र सूचीमा थपिएसँगै अब नेपालले बर्खा याममा भारतको प्रतिस्पर्धी बजारमा ४५२.४ मेगावाट विद्युत निर्यात गर्न पाउनेछ ।

प्राधिकरणले गत जेठ १९ गतेदेखि भारतको प्रतिस्पर्धी बजारमा विद्युत निर्यात गर्न सुरु गरेको थियो । सुरुवातमा २ जलविद्युत केन्द्रको ३९ मेगावाट विद्युत निर्यातको अनुमति पाएको प्राधिकरणले जेठ गते २७ गतेसम्म आइपुग्दा ६ जलविद्युत केन्द्रको ३६४ मेगावाटका लागि अनुमति पाएको थियो । कात्तिकमा २ जलविद्युत केन्द्र पनि थपिएका थिए ।

पुस ३ गतेसम्म भारतीय बजारमा विद्युत निर्यात गरेको प्राधिकरणले विद्युत बिक्रीबाट ११ अर्ब १६ करोड रुपैयाँ बढी आम्दानी गरेको थियो । यो अवधिमा प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत विद्युत भारतमा निर्यात गर्न सफल भएको थियो । अहिले नदी तथा खोलामा पानीको बहाब कम भई नदी प्रवाही जलविद्युतगृहले उत्पादन घटाएपछि भने निर्यात रोकिएको छ ।

अहिले प्राधिकरणले आन्तरिक उत्पादनबाट अपुग भएको विद्युत भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन गरिरहेको छ । यो वर्ष सुख्खा यामको माग आपूर्ति व्यवस्थापन गर्न ९० करोड युनिटसम्म विद्युत आयात गर्नुपर्ने प्राधिकरणको प्रक्षेपण छ । अहिले बढी विद्युत खपत हुने समय (पिक आवर) मा जलाशय तथा अर्धजलाशय आयोजनाबाट आपूर्ति व्यवस्थापन गरी भारतीय बजारमा विद्युत दर सस्तो हुने बेला अफपिक आवरमा मात्रै आयात हुने गरेको प्राधिकरणले जनाएको छ ।

आइएक्समा विद्युत खरिद-बिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले, हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले पुस ३ गतेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८.२२ रुपैयाँ छ ।

Facebook Comments

Read Previous

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

Read Next

कम्प्यूटर एशोसियसन महासंघमा नयाँ कार्यसमितिले पायो पूर्णता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar