Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सोलु दूधकोसीको संरचनामा पानी भरेर परीक्षण सुरु,८६ मेगावाट विद्युत प्रणालीमा आउँदै


काठमाडौं । सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको संरचनाको अवस्था परीक्षण गर्न पानी भर्न सुरु गरिएको हो ।

सोमबारबाट आयोजनाको सुरुङ र पेनस्टकमा पानी पठाउन सुरु गरेको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार मुख्य सुरुङ र पेनस्टकमा पानी भरिन करिब एक साताको समय लाग्नेछ ।

‘आयोजना निर्माण सम्पन्न गरेर अब विद्युत उत्पादन गर्ने चरणमा पुर्याएका छौं,’ उनले भने, ‘संरचना तथा जडान भएका उपकरणको अवस्था ठिक छ कि छैन भनेर परीक्षण गर्न पानी भरिरहेका छौं ।’ उनले सबै चरणको परीक्षण पूरा भई व्यापारिक विद्युत उत्पादन सुरु हुन करिब डेढ महिना लाग्ने बताए ।

सोलु दूधकोसी निजी ऊर्जा उत्पादकले स्वदेशी लगानीमा निर्माण पूरा गरेको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो।आयोजनामा ७.६५४ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ ।

निर्माण थालेको साढे ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादनको चरणमा पुर्याउन सफल भएको पनि पाठकले बताए । यसअघि २०७८ चैतबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहेकोमा कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्या लगायत कारणले सम्भव हुन सकेको थिएन ।

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन प्रवद्र्धक कम्पनीले नै निर्माण गरिरहेको छ । प्रसारण लाइनको एउटा टावर निर्माण गर्न बाँकी रहेको पाठकले बताए ।

साेलु दूधकाेसी आयोजनाको स्विचयार्ड

उनका अनुसार ४ वटा टावरमा मात्रै तार तान्न बाँकी छ । आयोजनाको संरचनाको परीक्षण र प्रसारण लाइनको निर्माण एकसाथ पूरा गरी विद्युत उत्पादन विद्युत उत्पादन सुरु गर्ने योजना रहेको उनले बताए ।

सञ्चालनमा आएपछि सोलु दूधकोसीले वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । बर्खामा सबैभन्दा बढी ४१९.९३ गिगावाट घन्टा र हिउँदमा १००.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ बराबर लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।

सोलु बेसिनमा सोलु दूधकोसीसहित ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।


Read Previous

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

Read Next

निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघकाे निर्णय

Leave a Reply

Your email address will not be published.