Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

घोराही उपमहानगरपालिकाकाे ग्रेडर मेसिन हाँक्दै अनिता


घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको संख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत ४ वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आएकी छन् ।

उनले डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आउकी छन् ।

बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन् । ‘मैले यतै आएर चलाउन सकेकी हुँ’, उनले भनिन् ।

‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए’, उनले भनिन्, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।’

घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउथे । भिनाजुसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिताले बताइन् ।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भइन । तर उहाँसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिइन । परीक्षामा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला थिइन् ।

‘पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भए’, अनिता भन्छिन । उनले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गरिन ।

‘ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो’, उनले भनिन, ‘विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।’ अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनको भनाइ छ ।

‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ’, चालक अनिता भन्छिन, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरु महिलालाई सल्लाह छ ।

निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट सन्तुष्ट रहेको अनिताको भनाइ छ । ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ’, अनिताले भनिने्, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।’

अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुन् । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गरेकी उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरिन ।

कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थालिन । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनी सम्झिन्छिन । ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ’ उनले भनिन् । (सुशीला ओली/रासस)


Read Previous

पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्याे

Read Next

साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

Leave a Reply

Your email address will not be published.