Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

घोषणापत्रमार्फत २० देखि ३० लाख पर्यटन भित्राउने पार्टीहरुको प्रतिस्पर्धा


काठमाडौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्यटन क्षेत्रको विकासको लागि दलहरुले लोभलाग्दो कार्ययोजना प्रस्तुत गरेका छन् ।

प्रमुख पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रबीच कसले धेरै पर्यटक भित्राउने भनेर घोषणापत्रमा लेख्ने भन्ने प्रतिस्पर्धा भएजस्तो देखिन्छ ।

तीन दलमध्ये पनि माओवादी केन्द्रले आगामी ५ वर्षभित्र ३० लाख पर्यटक भित्राउने घोषणापत्रमार्फत प्रतिवद्धता गरेको छ । उसले कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी पुनः घोषणा गरिने उल्लेख गरेको छ ।

त्यही कार्यक्रममार्फत् ३० लाख विदेशी पर्यटकहरू भित्रने आधार तयार गरिने प्रतिवद्धता गरेको छ ।

त्यस्तै, नेकपा एमालले पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गर्ने र नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्याइने दाबी गरेको छ ।

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ ।

पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधारहरू निर्माण तथा सुधार गरिने सार्वजनिक घोषणापत्रमा उल्लेख छ । एमालेले पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गर्ने भनेको छ ।

नेपाली कांग्रेसले पनि ५ वर्षभित्र २० लाख पर्यटक भित्र्याउनुको साथसाथै दैनिक पर्यटकको खर्च १०० डलर खर्च पुर्याउने लक्ष्य लिएको छ । यसै गरि उसले कोभिडको कारण खस्किएको पर्यटनको मनोबल उकास्न ५ वर्षे रणनीति बनाउने घोषणापत्रमार्फत् भनेको छ ।

यस्तो योजनाले देशको आर्थिक स्थिती सुध्रने कांग्रेसको दाबी छ ।

जनता समाजवादी पार्टीले नेपाललाई पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय गन्तब्य केन्द्रको रूपमा विकसित गर्दै यसक्षेत्रलाई रोजगारी र विदेशी मुद्रा आर्जनको श्रोतको रूपमा विकास गर्ने उल्लेख गरेको छ ।

देशको सास्कृतिक, जैविक एवम् भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्न आवश्यक बजेटको ब्यवस्था गर्ने र कामलाई तिव्रता दिने घोषणापत्रमार्फत प्रतिवद्धता गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई प्रकिया सहज र सस्तो बनाईने उल्लेख गरेको छ । पर्यटकमा विविधता ल्याउने गरी पहिलो चरणमा आवश्यक पूर्वाधार सहितको धार्मिक र आध्यत्मिक मार्गहरु विकास गर्ने र भईरहेको पर्यटनलाई व्यवस्थित गर्दै नेपाललाई साहसिक पर्यटनको विश्व गन्तव्य बनाउने घोषणापत्रमार्फत् उल्लेख गरेको छ ।

हिमाली क्षेत्र छुने हरेक प्रदेशमा हिमाली ध्यान केन्द्र स्थापना गर्ने र मुख्य सहरका पर्यटकिय गन्तव्यलाई २४ घण्टा खुल्ला राखिने भनेको छ । पार्टीले प्रत्येक प्रदेशमा सांस्कृतिक केन्द्रहरु स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी बनाउन प्रोत्साहित गर्ने वाचा गरेको छ ।


Read Previous

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

Read Next

पृथ्वी राजमार्ग विस्तार गर्न थप ४६६ रुख काटिने

Leave a Reply

Your email address will not be published.