Nepal Purbadhar

९ सय आरोहीले लिए हिमाल आरोहणको अनुमति,७ करोड बढी राजश्व संकलन


काठमाडाैं । चालू वर्षकाे शरद ऋतुमा हिमाल आरोहण गर्न १ सय ८ आरोही समूहका ९ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । याे समयमा विश्वकाे सर्वाेच्च शिखर सगरमाथा, मनास्लु, कञ्चनजंगालगायत ३५ हिमाल तथा चुली आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् ।

अनुमति लिनेहरू अहिले हिमाल तथा चुली आरोहणका लागि धमाधम आइरहेकाे पर्ययटन विभागले जनाएकाे छ । विभागका अनुसार याे अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका ४ सय ४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका ५ आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणका लागि ११ आरोही समूहका १ सय ३१ ले अनुमति पाएका छन् ।

यस्तै, हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् । धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि ४ आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् ।

अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ । यस सिजनमा हिमाल आरोहणबाट हालसम्म ७ करोड १० लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका ९ सय एक आरोही नेपाल आएका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिए ।

उनले अहिले पनि केही हिमालमा आरोहण अनुमति जारी भइरहेको बताए । उनका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ । तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौं अग्लो र नेपालको साताैं अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् ।

शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताए ।

उनले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए।

Facebook Comments

Read Previous

थापाथलीमा निर्मित अनधिकृत संरचनामा चल्याे डाेजर

Read Next

निजी क्षेत्रको अवस्था अध्ययन गर्न महासंघ र आईएफसीबीच सहकार्य गर्ने सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar