काठमाडौं । नेपाल विद्युत प्राधिरकणले चार महिनामा थप २५४ मेगावाट बिजुली निर्यातका लागि भारत समक्ष प्रस्ताव गरेपनि अझसम्म अनुमति पाएको छैन । वर्षा सकिएर एक महिनापछि देखि पानीको सतह घटी भारतबाट उल्टै आयात गर्नुपर्ने अवस्था आउन लागेपनि प्राधिकरणले अझै अनुमति नपाएको हो ।
गत वर्षमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत ३९ मेगावाट निर्यातका लागि अनुमति पाएको प्राधिरकणले गत चैत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण लगत्तै भारतले थप ३२५ मेगावाट सोही बजारमा विक्रीका लागि अनुमति पाएको थियो ।
गत जेठ १८ गतेदेखि ३६४ मेगावाट बिजुलीको निर्यात सुरु भएको प्राधिकरणले त्यस लगत्तै जेठ २४ गतेका साथै साउन ३०, भदौ २९ र असोज ७ गते थप बिजुली निर्यातका लागि भारतमा प्रस्ताव गरेको थियो । प्राधिकरणका अनुसार, जेठमा ६९.८ मेगावाटका तीन, साउनमा ४२ मेगावाटको एक, भदौमा १००.९४ मेगावाटका पाँच र असोजमा ४२.१ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव गरेको गरेको छ तर अझै अनुमति पाएको छैन ।
अनुमति पाएपनि ४५६ मेगावाट माथिल्लो तामाकोशी लगायतका आयोजनाहरु मर्मत सम्भारका लागि मर्मत गर्न लागिएको छ भने नोभेम्बर १५ पछि पानीको सतह घट्दै जाने हुनाले अब भारतले प्राधिकरणले गरेको प्रस्तावलाई स्वीकृति गरेपनि निर्यातको सम्भावना कम छ तर विद्युत प्राधिकरणका प्रवक्ता शुरेस भट्टराई भारतलाई थप विद्युत निर्यातका लागि प्रस्ताव गरिसकेको र अनुमतिको पर्खाइमा रहेको बताउँछन् । ‘हामीले थप विद्युतको निर्यातका लागि प्रस्ताव गरेका छौ, त्यसको अनुमतिको प्रतिक्षामा छौ ।’ उनले भने, ‘अब अनुमति पाउँदा समेत ढिलाई हुँदैन, अनुमति पाएमा जति निर्यातको सम्भावना हुन्छ, त्यो गछौ ।’
साढे एक बर्ष अघि करिब ९ सय मेगावाट बराबरका ६ आयोजनाको विद्युत निर्यातका लागि प्रस्ताव गरेपनि ३ सय ६४ मेगावाटको मात्र अनुमति पाएका थिए । गत बर्ष २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाटबाट उत्पादित बिजुली निर्यात गरिएकोमा गत जेठदेखि ६९ मेगावाटको मस्याङदी, १४४ मेगावाटको कालीगण्डकी ए, ७० मेगावाटको मध्य मस्याङदी तथा ५२.४ मेगावाटको लिखु–४ बिजुली निर्यात गरिएको थियो ।
साढे एक बर्ष अघि ३० मेगावाटको चमेलिया, ४५ मेगावाट माथिल्लो भोटेकोशी र ४५६ मेगावाटको अपर तामाकोशीको विद्युत निर्यातका लागि प्रस्ताव गरेकोमा हालसम्म भारतले स्वीकृति दिएको छैन । प्राधिकरणका अनुसार, जेठ २४ गते २२.१ मेगावाटको चिलिमे र २३.५ मेगावाटको सोलु खोला निर्यातका लागि प्रस्ताव गरेको थियो ।
साउन ३० गते ४२ मेगावाटको मिस्त्री खोला तथा भदौ २९ गते १० मेगावाटको लोअर मोदी १, २९.०४ मेगावाटको लिखु खोला ए, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवा खोला ए र २५ मेगावाटको काबेली बी १ निर्यातका लागि प्राधिकरणले प्रस्ताव गरेको छ । यसैगरी असोज ७ गते २२.१ मेगावाटको तल्लो हेवा खोला तथा २० मेगावाटको लोअर मोदी निर्यातका लागि भारत समक्ष प्रस्ताव गरेको छ ।
प्राधिकरणका अनुसार, हालसम्म भारतीय बजारमा ११६० मेगावाट बराबरको बिजुली निर्यातका लागि प्रस्ताव गरेकोमा ३६४ मेगावाटले मात्र अनुमति पाएको छ ।
भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामार्फत भारतसँग ऊर्जा व्यापार सम्झौता भएका देशहरुसँग मात्र विद्युत निर्यात गर्ने उल्लेख गर्दै सम्झौता नभएका देशहरु संलग्न भएका जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि अनुमति नदिने व्यवस्था गरेपछि यही कारण धेरै आयोजनाले भारतबाट अनुमति पाएका छैनन । यसलाई आधार मानेर चीनीयाँ ठेकेदार कम्पनीको संलग्नता रहेको भन्दै ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजनाको बिजुली समेत निर्यातका लागि अहिलेसम्म भारतले अनुमति दिएको छैन ।
आगामी दिउँदमा सम्झौतामार्फत तीन सय मेगावाटसम्म आयात
नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा तीन सय मेगावाटसम्म सम्झौतामार्फत बिजुली आयात गर्ने योजना बनाएको छ ।
प्राधिकरणका अनुसार, डिसेम्बरदेखि फेब्रअरीसम्म २ सय तथा मार्चदेखि मेसम्म ३ सय मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य छ । यसका लागि विद्युत प्राधिकरणले भारतको केन्द्रीय विद्युत नियमन आयोगबाट अनुमतिपत्र कम्पनीको लागि खुल्ला प्रतिष्पर्धामार्फत विद्युत आयातका लागि प्रस्ताव आह्वान गरिसकेको छ । असोज २५ गतेसम्मका लागि समय तोकिएकोमा दशैको चाड परेकोले एक हप्ता थप गरेको छ ।
प्राधिकरण स्रोतका अनुसार, विद्युत अपुग भएमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारबाट विद्युत आयात गर्ने लक्ष्य छ ।
हाल साढे १५ सय मेगावाटको माग रहेकोमा हिउँदमा बढेर १८ सय मेगावाट पुग्ने लक्ष्य राखिएको छ ।
प्रस्ताव गरेर पनि अनुमति नपाएका आयोजनाहरु
१. ३० मेगावाटको चमेलिया
२. ४५ मेगावाट माथिल्लो भोटेकोशी
३. ४५६ मेगावाटको अपर तामाकोशी
४. २२.१ मेगावाटको चिलिमे
५. २३.५ मेगावाटको सोलु खोला
६. ४२ मेगावाटको मिस्त्री खोला
७. १० मेगावाटको लोअर मोदी १
८. २९.०४ मेगावाटको लिखु खोला ए
९. २२ मेगावाटको माईखोला
१०. १४.९ मेगावाटको हेवा खोला ए
११. २५ मेगावाटको काबेली बी १
१२. २२.१ मेगावाटको तल्लो हेवा खोला
१३.२० मेगावाटको लोअर मोदी