Nepal Purbadhar

कर्णाली नदीमा बेपत्ता बसको खोजी र राजमार्ग स्तरोन्नतिको माग


काठमाडौँ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णाली नदीमा बेपत्ता भएको यात्रुवाहक बसको खोजी कार्यलाई प्रभावकारी बनाउन तथा कर्णाली राजमार्गको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले कर्णाली राजमार्गमा भइरहेका बारम्बारका सडक दुर्घटना रोक्न दीर्घकालीन योजना बनाएर सडकको गुणस्तर सुधार गर्न सरकारसँग माग गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक बस दैलेखस्थित कर्णाली नदीमा खसेको पाँच दिन बितिसक्दा पनि बस र यात्रुको अवस्थाबारे स्पष्ट जानकारी आउन नसकेको भन्दै खोजी कार्य प्रभावकारी बनाउन आग्रह गरिन्। उनले कर्णालीका सडकमा भइरहेका दुर्घटनाले नागरिकलाई असुरक्षित बनाएको बताइन्।

नेकपा (एमाले) की एसुदाकुमारी बरालले कर्णाली राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरिन्। कांग्रेसका खड्ग शाहीले दुर्घटनाग्रस्त बसको खोजी कार्यको पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा बढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडकको मापदण्ड र गुणस्तरबारे छानबिन गर्न माग गरे। राप्रपाका ज्ञानबहादुर शाहीले दुर्घटनाको पाँच दिन बितिसक्दा पनि बस र यात्रु फेला नपरेको भन्दै घटनामा भएका कमजोरीको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको बस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा कर्णाली नदीमा खसेको थियो। उक्त बसको खोजी अझै जारी छ।

बैठकमा अन्य समसामयिक विषय पनि उठाइएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी अङ्किता ठाकुरले लाकुरीभञ्ज्याङ नजिक दुर्घटनामा परी सप्तरीका नवरत्न साहको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै वर्षायाममा यात्रा गर्दा मौसम, सडकको अवस्था र सम्भावित जोखिमको मूल्याङ्कन गर्न आग्रह गरिन्।

रास्वपाकी स्मृति सेन्चुरीले दोलखाको बैतेश्वर गाउँपालिका–८ मा आगलागीबाट घर गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिन्। एमालेका ऐनबहादुर शाहीले बझाङमा आगलागीबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टीका प्रेमबहादुर बयकले अछाममा एक बालविकास शिक्षिकामाथि भएको दुर्व्यवहारको घटनामा संलग्न वडाध्यक्ष र प्रधानाध्यापकमाथि कारबाही गर्न माग गरे। कांग्रेसकी सीता थपलियाले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको प्रभाव जनताले अनुभूति गर्न नसकेको बताइन्।

नेपाल कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले फिफासँगको विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध हटाउन पहल गर्न सरकारसँग आग्रह गरे। सोही पार्टीका जोगकुमार बरबरिया यादवले तराई–मधेसका किसानलाई जङ्गली निलगाईबाट जोगाउने प्रभावकारी व्यवस्था गर्न माग गरे।

राप्रपाकी खुश्बु ओलीले एमबिबिएस र बिडिएस इन्टर्न चिकित्सकलाई न्यून भत्ता र अत्यधिक कामको बोझ दिइएको भन्दै श्रम शोषण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्। रास्वपाकी आशिका तामाङले बर्डफ्लुबाट प्रभावित किसानलाई राहत र रोग नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् भने प्रकाश पाठकले झापामा भइरहेका विद्युत् अवरोध समाधान गर्न माग गरे।

एमालेकी साजिता खातुन सिद्धिकीले बाराकी १३ वर्षीया सरिया खातुनको मृत्यु घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिन्। गङ्गादेवी श्रेष्ठले अवैध ‘गोल्ड क्वाइन’ नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लगाउन आग्रह गरिन्।

श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नदी कटानबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए। सोही पार्टीका आरेन राईले एमबिबिएस तथा बिडिएस अध्ययनरत विद्यार्थीसँग पाँच वर्षको शुल्क अग्रिम असुलिएको भन्दै त्यसको छानबिन गर्न माग गरे।

रास्वपाका नरेन्द्रकुमार गुप्ताले वीरगञ्जमा सडक विस्तारका क्रममा २५–२५ मिटरभित्रका संरचना भत्काउँदा नागरिक प्रभावित भएको भन्दै उक्त कार्य तत्काल रोक्न सरकारसँग माग गरे।

बैठकको प्रारम्भमा नेपाल कम्युनिष्ट पार्टीकी बलावती शर्माले मन्त्रीको सचिवालयमा ठूलो सङ्ख्यामा सल्लाहकार नियुक्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसले कर्मचारीतन्त्रमा अन्योल र त्रास सिर्जना गरेको बताइन्।


Read Previous

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

Read Next

पश्चिम नेपालको विद्युत् समस्याप्रति मन्त्री श्रेष्ठको विशेष चासो, फिल्डमै पुगेर अवस्था अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar