
ललितपुर । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई प्रि आइपिओको नाममा विभिन्न सङ्गठित संस्थाका सेयर विक्री नगर्न आग्रह गरेको छ ।
हाल सामाजिक सञ्जाल (ह्वाट्स एप, भाइबर, फेसबुक ग्रुप, इमेल र एसएमएस मार्फत केही कम्पनीहरूले भविष्यमा सार्वजनिक निष्काशन गर्ने भन्दै सेयर खरिद गर्ने प्रस्ताव गरी अनधिकृत रूपमा पैसा उठाउने गतिविधि बढिरहेको बोर्डमा उजुरी पुगेपछि यस्तो ध्यानाकर्षण गरिएको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार कुनै पनि सङ्गठित संस्थाले सार्वजनिक निष्काशन नगरी सेयर वितरण वा विक्री गर्न नपाउने प्रावधान छ । त्यसैले बोर्डले प्रि आइपिओको नाममा हुने यस्ता कारोबार पूर्णतया अवैध भएको स्पष्ट पारेको छ ।
बोर्डले लगानीकर्तालाई यस्ता अवैध प्रस्तावमा संलग्न नहुन र यस्ता गतिविधिबाट सावधान रहन आग्रह गर्दै कानुन विपरीत कार्यमा संलग्न भए कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।
बोर्डका अनुसार सेयर खरिद–विक्री सम्बन्धी कुनै पनि जानकारी आधिकारिक निकायबाट मात्रै प्रकाशित गरिने भएकाले त्यसबाहेकका स्रोतलाई विश्वास गर्नु हुँदैन ।