
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब नेपालको कुनै पनि भाग दुर्गम रहन नसक्ने बताएका छन । सडक तथा यातायातको पहुँच नपुगेकै कारण देशको कुनै पनि भाग र क्षेत्रलाई दुर्गम हुन नदिईने उनले बताए ।
बुधबार आयोजीत मेची राजमार्ग अन्तर्गत पाँचथरको हेँवा खोलामा निर्मित मोडुलर ब्रीज (बेलीब्रीज) को उद्घाटन कार्यक्रममा उहाँले देशका ७७ ओटै जिल्लामा सडक सञ्जाल पु¥याईको भन्दै आवश्यक स्थानका सडकहरु थप स्तरीकरण र निर्माण पनि गरिने बताए । मन्त्री दाहालले भने, ‘अब पनि कुनै भागमा सडक पुगेन, यो क्षेत्र त दुर्गमै रहयो भन्ने अवस्था आउँदैन र आउन दिईँदैन ।’
सरकारले राष्ट्रिय गौरवका एवम् रुपान्तरणकारी आयोजना, छिमेकी देशसँगको यातायात पहुँच स्थापित गर्ने, अन्य राष्ट्रिय राजमार्ग, ठुलो जनसंख्यालाई लाभ पु¥याउने तथा नागरिकको आर्थिक विकासमा पनि टेवा पुर्याउने योजनाहरुलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।

नेपालको पूर्वाधारका क्षेत्रमा छिमेकी मुलुक भारतबाट भई रहेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री दाहालले आगामी दिनमा दुई देश विचको सम्वन्ध थप प्रगाढ बन्ने विश्वास पनि व्यक्त गरे । सो स्थानमा बेलीब्रीज जडानमा क्रममा एक पटक दुर्घटना भए पछि समेत भारत सरकारले तदारुकताका साथ प्राविधिकहरु समेत पठाएर नेपाल र नेपालीहरुलाई ठुलो गुन लगाएको भन्दै राजदूत मार्फत भारत सरकारलाई धन्यवाद समेत व्यक्त गरे ।
मन्त्री दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रुपमा सो पुलको उद्घाटन गरेका हुन । सो कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारत विचको युगौ पुरानो सम्वन्ध रहि आएको स्मरण गरे । नेपाल र नेपालीको हितका लागि सहयोग गर्न पाउँदा भारत सरकार खुसी रहेको समेत उनले बताए । आगामी दिनमा नेपाल र भारत विचको सहकार्य सम्वन्ध थप प्रगाढ रहने पनि उहाँले विश्वास व्यक्त गरे । पुल जडानका क्रममा भएको घटनाबाट निराश र हतोत्साही नभई शिक्षा लिएर कार्य सम्पन्न गर्न पाउँदा भारत सरकार समेत खुसी रहेको उनले बताए ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले भारत सरकारले उपलव्ध गराएको सो पुल जडानका लागि कर्मचारी, प्राविधिक सहित स्थानीयबासीहरुबाट ठुलो सहयोग प्राप्त भएको बताए । स्थानीय तहहरु, स्थानीयबासी तथा सवै क्षेत्रबाट प्राप्त सहयोगलेनै उक्त पुल जडान कार्य सफल भएको शर्माको भनाई थियो । सडक विभागका महानिर्देशक डा. बिजय जैसीका अनुसार ३ करोड ४९ लाख रुपैयाँको लागतमा दोभान–सुपरसौगात–लाईट विल्डर्स जेभीले सो पुल जडान गरेको हो । कार्यस्थलमा आधारीत १० दिने तालिम सहित सो पुल जडान गरिएको उनले बताए ।
भारतीय सरकारको सहयोगमा सो पुल उपलव्ध भएको हो । ७०.१०४ मिटर लामो र ४.२५ मिटर चौडा रहेको सो पुल नेपालका लागि नौलो र यस प्रविधिको सवै भन्दा लामो रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

मेची राजमार्ग हुँदै पाँचथरको हिलिहाङ्, याङ्वरक, फालेजुङ् सहित ताप्लेजुङ् जिल्लालाई जोड्ने सो स्थानको पुल २०८० को बाढिले बगाएको थियो । त्यस लगत्तै बनाईएको बेलीब्रीज समेत २०८१ असोजमा आएको बाढीले बगाए पछि सडक विभाग तथा मन्त्रालयले उच्च प्राथमिकता दिएर पुनः अर्को बेलीब्रीज जडानको कार्य अघि बढाएको थियो ।
मृतकका परिवारलाई राहत
सोहि स्थानमा बेलीब्रीज जडान अन्तिम चरणमा पुगेको बेला गत जेष्ठ ३१ गते भएको दुर्घटनामा ३ जना मजदुरको मृत्यु हुनका साथै पुलको २० प्रतिशत सामाग्री नष्ट भएको थियो । त्यस पश्चात भारतबाट आएका प्राविधिकहरु समेतको टोलीले पुनः द्रुत रुपमा कार्य अघि बढाई जडानको काम सम्पन्न भएको ईन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए । पुल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरु रुपलाल चौधरी, राजन राय र राकेश राय थारुको सम्मानमा पुलसँगै स्मृति स्तम्भ समेत निर्माण गरिएको छ । सोहि कार्यक्रममा मन्त्री दाहालले पुल जडानका क्रममा भएको घटनामा निधन भएका मजदुरका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गरिने घोषणा पनि गरे ।
बुधबारनै मन्त्री दाहाल एवम् भारतीय राजदूत श्रीवास्तवले ईलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिजको उद्घाटन गरेका थिए ।