Nepal Purbadhar

जलविद्युतको सेयर निष्कासन रोक्नु हुदैन- शेर बहादुर देउवा



काठमाडौ । पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापती शेर बहादुरले जलविद्युतको सेयर निष्कासन रोक्न नहुने बताएका छ्न।


इप्पानको २३ औ साधारण सभाको अवसरमा बोल्दै देउवाले धितोपत्र बोर्डले आइपिओ रोकेको आफुले सुनेको भन्दै रोक्न नहुने बताएका छन ।

उनले निजी क्षेत्रले पीपीए गर्न नपाएको गुनासो सुनेको बताए । उनले मुलुकको बिकासका लागि उर्जा चाहिने भन्दै स्वदेशी सहित विदेशी लगानी चाहिने बताए ।

उनले के के भने ?

यस कार्यक्रमका सभापतिज्यू,

कार्यक्रममा उपस्थित अतिथिज्यूहरु,

पत्रकार मित्रहरु,

महिला तथा सज्जनबृन्द,

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)  नेपालको २२ औं बार्षिक उत्सवको अवसरमा सर्वप्रथम सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।साथै मालाइ यस कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु।

सरकारको साथ, निजी क्षेत्र चालक भन्ने नारासहित यो बार्षिक उत्सव मनाउन लाग्नु भएको रहेछ। नाराजस्तै सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्दछ र गर्नुपर्दछ भन्ने मेरो पनि मान्यता छ।

निजी क्षेत्रले जलविद्युत उत्पादनमा गरेको प्रगति र उपलब्धि प्रशंसनीय छ। निजी क्षेत्रले ऊर्जा उत्पादनमा गरेको योगदानका कारण अहिले मुलुकले लोडसेडीङको समस्या भोग्नु परेको छैन।नेपाली कांग्रेस जलविद्युत उत्पादनमा पनि निजी क्षेत्रको लगानी आवस्यक छ भन्ने पक्षमा सुरुदेखिनै छ।

नेपाली कांग्रेसको सरकारले तत्कालिन कांग्रेस नेतृ शैलजा आचार्य उपप्रधान एवं जलस्रोत मन्त्री भएका बेला जलबिद्युत उत्पादनमा निजि क्षेत्रको लगानी खुला गर्नु भएको तपाईहरु सबैलाई थाहा नै छ।

त्यही नीतिकै कारण आज निजि जलविद्युत उत्पादनमा झण्डै ८० प्रतिशत हिस्सा ओगट्दै अर्बौं लगानी गर्ने वातावरण बनेको हो।

तपाईहरुले शेयर निष्काशनमा ढिलाई, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाएको, समयमै प्रसारण लाइन नबन्दा बिजुली खेर गएको, वन मन्त्रालय सरकारी निकायहरुमा प्रक्रियागत झन्झट रहेको र लामो समय लाग्ने गरेको लगायतका थुप्रै समस्याहरु उठाउनुभएको छ।

देशमै बसेर लगानी गर्छु भनेर लाग्नुभएका तपाईहरुलाई यस्तो कुरामा सरकारले सहजीकरण गर्ने हो, दुःख दिने होइन। मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ। निजी क्षेत्रको लगानीविना देशको विकास सम्भव हुँदैन र देशले आर्थिक समृद्धि हासिल गर्न पनि सक्दैन भन्नेमा हामी पूर्ण विश्वास गछौं।

नेपालले आर्थिक तथा सामाजिक विकासमा अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पछाडी देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति हो भन्नेमा दुई मत छैन। यसको कार्यान्वयनको क्रममा भएका कमीकमजोरी अन्त्य गरेर निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।

विद्युत उत्पादन बढ्दै जानु खुशीको कुरा हो। आज देशभित्र लोडसेडिङ छैन। छिमेकी मुलुकहरुसँग विद्युत व्यापार पनि सुरु भएको छ।

अझै स्वदेशभित्र धेरै उद्योग व्यवसाय सञ्चालन गरेर बढीभन्दा बढी बिजुली खपत गराउनु पर्दछ।

म प्रधानमन्त्री भएका बेला पहिलोपटक ३९ मेगावाट विद्युत व्यापार सुरु भएको थियो। म प्रधानमन्त्री हुँदानै भारतीय प्रधानमन्त्री मोदीसँग संयुक्त सहकार्यका लागि समझदारी गरेको थिए।त्यही आधारमा अहिले भारतसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत व्यापार हुन थालेको छ।

अहिले उत्पादित बिजुली खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो। यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ।लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सलत विधि अपनाएर लगानी गर्ने वातावरण बनाउने हो। लगानीकर्ताहरुलाई दुःख दिने भन्ने त हुँदै हुँदैन। स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ।

अन्त्यमा, पुनः एकपटक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालको बार्षिक उत्सवको अवसरमा तपाईहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। बार्षिक उत्सवमा सम्मानित हुने व्यक्तित्वहरुलाई पनि बधाई दिन चाहन्छु।

धन्यवाद !  जय नेपाल !!


Read Previous

सरकारकै कारण नेपालको जलविद्युत विकास मासिने अवस्थामा पुग्यो- गणेश कार्की

Read Next

धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने, सार्वजनिक विदामा पनि सञ्चालन हुने

Nepal Purbadhar