
काठमाडौं । काठमाडौं जिल्लाको कीर्तिपुरस्थित चम्पादेवी डाँडामा केबलकार बनाउने तयारी भएको छ ।
चम्पादेवी इको-फ्रेण्डली कम्पनी प्रालिले चम्पादेवीमा केबलकार बनाउनका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो । उक्त केवलकार कीर्तिपुर नगरपालिका वडा नम्बर ४ र दक्षिणकाली नगरपालिका वडा नम्बर १ मा बनाउने तयारी रहेको छ ।
५०० करोड लगानीमा निर्माण गरिने भनिएको आयोजनाको माथिल्लो स्टेसन कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा रहनेछ भने तल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नम्बर १ मा रहनेछ ।
२.०७५ किलोमिटर लम्बाई हुने केबलबार मोनोकेबल डिट्याचएवल गोन्डोला किसिमको हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । केबलकारको माथिल्लो स्टेशन र तल्लो स्टेशनबीच उचाईबीच ७५४.५ मिटरको भिन्नता रहने छ ।
आयोजनामा कुल ३४ वटा पुर्ण बन्द हुने केबिन प्रकृतिका गोन्डोलाहरु हुन्छन् भने २ वटा सामान बोक्न तथा १ वटा मर्मतका लागि हुनेछ । प्रति केबिनको क्षमता करिब ८०० किलो वा १० जना प्रति केबिन रहने छ ।
आयोजनामा केबलहरु बीचको दूरी ६.४ मिटर हुनेछ भने ढुवानी केबलको मोटाई ५४ मिलिमिटर रहेको छ । स्प्लिसड केवलको लम्बाई ४२२५.८ मिटरको रहनेछ भने केबलको प्रकार स्टिल वायर किसिमको हुनेछ ।
केबलकार सञ्चालनका लागि आवश्यक पर्ने उर्जा भने तल्लो स्टेसनमा सुरुवातमा ७१४ किलोवाट र ५३५ निरन्तर चाहिने तथा माथिल्लो स्टेसनमाम १५० किलोवाट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । केवलकारको गति भने ६ मिटर प्रति सकेन्ड रहनेछ र एक स्टेसनबाट अर्को स्टेसनसम्म पुग्नका लागि लाग्ने समय ७.०१ मिनेट रहेको छ ।
आयोजनामा १२ वटा टावर राखिनेछन् । तल्लो स्टेसनमा विभिन्न संरचनाहरु निर्माणका लागि ५९७५ वर्ग मीटरको क्षेत्र रहनेछ, जसमा प्रवेशद्वार, मुख्य भवन, दुई पांग्रे तथा चार पांग्रे पार्किङ, पम्प हाउ, पानी ट्यांकीलगायतका संरचना हुनेछन् । माथिल्लो स्टेसनमा भने १.८० हेक्टरको क्षेत्रफल ओगटिनेछ । यहाँ स्टाफ क्यान्टिनदेखि केबलकार उत्रने र चढ्ने ठाउँ तथा अपरेटर रुप र उपकरणहरु राखे क्षेत्र हुन्छन् । साथै, यहाँ मनोरञ्जन भवन र पार्क पनि हुनेछ, जहाँ इनडोर गेमिङ जोनदेखि एम्फीथियटरसम्मका सुविधा हुनेछन् । यहाँ मन्दिरसमेत निर्माण हुनेछ, जसको कुल ओगटिने क्षेत्रफल ०.४ हेक्टर वर्गमिटर रहेको छ ।
भ्याट बिना ५ सय करोड लगानीमा बन्ने प्रस्ताव गरिएको आयोजनाको पेब्याक अवधि १० वर्ष रहेको छ भने निर्माण अवधि २४ महिना रहेको छ । आयोजना सम्पन्न भएपश्चात दैनिक ५ हजार आगन्तुक आउने अपेक्षा राखिएको छ ।