Nepal Purbadhar

१५ हजार मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोना निर्माण कार्ययोजना बनाउदै सरकार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कर्णाली–चिसापानी जलविद्युत आयोजना नेपाल, भारत र चीनसहित दक्षिण एशियाकै साझा नमूना आयोजना बन्ने विश्वास व्यक्त गरेका छन् । रसुवामा निर्माण सम्पन्न साञ्जेनखोला जलविद्युत आयोजना (७८ मेगावाट)को काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले कर्णाली–चिसापानी आयोजनाको क्षमता प्रारम्भमा १० हजार ८ सय मेगावाट भनिए पनि प्राविधिक परिमार्जनपछि झण्डै १५ हजार मेगावाटभन्दा माथि पुग्ने बताए ।

मन्त्री खड्काले नेपाल, भारत, चीन र बंगलादेशजस्ता छिमेकी राष्ट्रहरूसँग मिलेर आयोजना अघि बढाउन सकिएको खण्डमा दक्षिण एशियामा झनै नयाँ ऊर्जा क्रान्ति भई यस क्षेत्रको नै आर्थिक, सामाजिक, ऊर्जा सुरक्षालगायत नेपालको समृद्धिमा टेवा पुग्ने बताए । साथै यस्ता आयोजनाले छिमेकी मित्र राष्ट्रहरूसँगको आर्थिक र जनस्तरीय सम्बन्ध समेत सुदृढ हुने विश्वास व्यक्त गरे ।

‘बंगलादेशलाई हामीले भर्खरै विद्युत निर्यात गर्न थालेका छौँ, यदि यी चार राष्ट्रहरू मिलेर यो आयोजना अघि बढाउन सकेमा यो क्षेत्रीय सहकार्यको उत्कृष्ट मोडल बन्न सक्छ,’ उनले भने ।

उनले जलवायु परिवर्तन र कार्बन न्यूनिकरणतर्फ लक्षित वर्तमान अन्तर्राष्ट्रिय प्रयासमा पनि कर्णाली–चिसापानी आयोजना एक महत्वपूर्ण योगदानकर्ता बन्ने विश्वास व्यक्त गरे । नेपाल सरकारले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले यस्तो आयोजनाले उक्त लक्ष्य हासिल गर्न ठोस योगदान पुग्ने धारणा राखे ।

यसले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रकालागि ऊर्जा सुरक्षाकाथै ऊर्जा रुपान्तरणका दृष्टिकोणले एक ऐतिहासिक र महत्वपूर्ण कदम हुनेछ । मन्त्री खड्काका अनुसार यो आयोजना दक्षिण एशियाली राष्ट्रहरूबीचको ‘जियोपोलिटिकल’ मुद्दालाई समेत सन्तुलनमा राख्ने अवसरको रूपमा विकास हुन सक्छ । उनले कर्णाली–चिसापानी आयोजना नेपाल मात्र नभई समग्र क्षेत्रकै उर्जा सुरक्षाको आधारशिला बन्ने  उल्लेख गरे ।


Read Previous

चूनौतीका बाबजुद नेपालको पूर्वाधारमा महत्वपूर्ण उपलब्धी  हासिल भएको छ- अध्यक्ष रवि सिंह

Read Next

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन, उद्योगी गदगद