Nepal Purbadhar

अपांगता भएका कफी किसानहरूलाई दिगो कफी खेती तालिम


सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा अपाङ्गता भएका कफी कृषकहरूलाई लक्षित गरी दिगो कफी खेती सम्बन्धी सम्बन्धी विशेष तालिम शुक्रबारदेखि सुरु भएको छ । दुई दिने उक्त तालिमको उद्देश्य अपाङ्गता भएका कृषकहरूलाई कफी खेतीको माध्यमबाट आर्थिक रूपमा सशक्त बनाउन आवश्यक सीप तथा ज्ञान दिलाउने रहेको छ ।

सहभागीहरूलाई दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाइ आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । युरोपियन युनियनको सहयोगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम ( इयु टिआइपी ), राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी महासंघ र चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा यो तालिमको आयोजना गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजना भएको उक्त तालिमका सहभागीहरूले उन्नत र दिगो माध्यमबाट कफी खेती र फसल काट्ने प्रविधिहरू, कफी रोपण प्रविधि, गुणस्तर नियन्त्रण, र वातावरणमैत्री खेती अभ्यासहरूबारे ज्ञान आर्जन गर्दैछन् । तालिममा ३५ जना कफी कृषकको सहभागिता रहेको छ।

तालिममा सहभागी सीता बस्नेतले तालिमबाट दिगो कफी खेतीका लागि सहभागीहरूलाई नयाँ ज्ञान प्राप्त भएको बनाउँदै किसानहरूले भोगेका समस्याको बारेमा फार्ममा अनुगमन गरी सहयोग गर्नुपर्ने माग गरे ।

तालिमको उद्‍घाटन गर्दै चौतारा साँगागढी नगरपालिका वडा नं छ का अध्यक्ष शिव श्रेष्ठले  कफी क्षेत्रमा स्थानीय तहमा आम्दानी र रोजगारी बढाउन कफी प्रवद्र्धनका लागि स्थानीय सरकार सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

ईयू–नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रोग्रामका कफी विज्ञ बद्रीप्रसाद बस्ताकोटी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत चन्द्र पुरी,  कृषि मन्त्रालयका योजना अधिकृत विष्णु ज्ञवाली र वागवानी अधिकृत राज केसीले कफीको संभावना विश्व बजारमा प्रचुर रहेको बताउँदै देशमा नै उत्पादन र उत्पादकत्व बढाउन यस्ता क्षमता विकास तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


Read Previous

निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामुलक काममा सहकार्य गर्ने आयाेग अध्यक्ष धितालकाे प्रतिवद्धता

Read Next

कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनकाे निर्माण सुरु, ३ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने