Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

३ कराेड लगानीमा रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृहकाे निर्माण सुरु


भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको हाे ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा बुधबार पेट्रोलियम भण्डारणगृह निर्माणकाे शुभारम्भ  गरेका हुन् । भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले खरिद गरेको १३.५ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

याे भण्डारणगृहले लुम्बिनी प्रदेशका लागि चाहिने पेट्राेलियम पदार्थकाे २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निगमले स्थानीयवासीको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिए । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे ।

करिब ३ अर्ब रुपैयाँ लागतमा भण्डारणगृह निर्माण गर्न लागिएको परियोजनाका संयोजक प्रदीप यादवले जानकारी दिए । उनका अनुसार याे स्थानमा डिजेल भण्डारणका लागि २ हजार १ सय किलोलिटर क्षमताका ३ वटा, पेट्रोल भण्डारणका लागि १ हजार ६ सय किलोलिटर क्षमताका २ वटा र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका ३ वटा ट्याङ्क निर्माण गरिनेछ ।

भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो यहाँ सारिने पनि यादवले बताए । भण्डारण डिपोलाई बाढीबाट जोगाउन २ मिटर अग्लो बाँध निर्माण गरी जमिन पुरिने परियोजना उनले बताए । आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उनले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने बताए ।

परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्नेछ । आगामी मङ्सिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे निगमले जनाएकाे छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक विवेक बरालले विश्वविद्यालय र निगमबीच लामो समयदेखि सहकार्य रहँदै आएको उल्लेख गर्दै मुलुकको ऊर्जा सुरक्षाका लागि भण्डारण गृह निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


Read Previous

ऊर्जा क्षेत्रमा छैन महिलाकाे समान सहभागिता, अग्रजहरू भन्छन्, ‘ग्याप भरिन समय लाग्छ’

Read Next

निजी क्षेत्रले कहिले पाउँला विद्युत व्यापारको अनुमति ?

Leave a Reply

Your email address will not be published.