Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

चरिकोट-देउराली सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा   


दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो ।

सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर भरतकुमार यादवले बताए । उनले ९८ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए ।

सडक ग्रेडिङ गरी सब-बेसको काम पूरा भईसकेको प्रमुख यादवको भनाइ छ । देउरालीदेखि सुरु गरेको कालोपत्र अघिल्लो जेठमै एक किलोमिटर सम्पन्न भएको थियो । केही दिन अगाडी सकिने काम पानी परेकाले रोकिएको कार्यालयले जनाएको छ ।

सडकको लम्बाइ ५ किलोमिटर र चौडाइ छ मिटर छ । सडकमा दुईतर्फी गाडी आवतजावत गर्न सक्ने प्राविधिकको भनाइ छ । सडक कालोपत्र गरिसकेपछि रङरोगन, ट्राफिक चिन्ह राख्ने काम हुने कार्यालयले जनाएको छ । मौसमले साथ दिएमा एक साताभित्र कालोपत्र पूरा गरी वैशाखभित्र सम्पूर्ण काम सकिने प्रमुख यादवले बताए ।

१८ महिनामा काम पूरा सम्झौता सहित २०७९ भदौ २ गते जय धनन्जय/गणेश, कुण्ड/भुजेल जेभी ओखलढुङ्गाले ठेक्का लिएको थियो । निर्माण व्यवसायीका प्रतिनिधि सुदिप सुनुवारले समयमा साइट क्लियर भएपनि २०८० साउनदेखि मङ्सिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताए ।

“ठेक्का सम्झौताअनुसार १८ महिनामा सम्पन्न गर्नुपर्ने भएपनि हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामलाइ तिव्रता दिइरहेका थियौँ,” निर्माण व्यवसायी सुनुवारले भने, “सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नुप-यो क्रसर बन्दले निर्माण सामग्री पाएनौँ ।”

सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका-६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युत्का पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम ढिला भएको उनले बताए ।

ढल विकासको कामले सडकको सतह विगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ । सडकको १७ करोड ३५ लाख रुपैयाँमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको थियो । पूर्व निर्धारित डिजाइन अनुसार काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ ।

सम्झौता अनुसार समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको थियो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालोपत्र सम्पन्न भएपनि सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान हुने विश्वास व्यक्त गरे । चरिकोटबाट कालिञ्चोक जाने सडकको दुरावस्थाले गर्दा मकैबारीबाट पर्यटक कालिञ्चोक जाने गरेका छन् ।

चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनुपर्ने मागगर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ ।

सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो । कालोपत्र भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुनेछ । सडक विस्तार र कालोपत्रको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


Read Previous

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’   

Read Next

बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई कर छुट, ब्याज पुँजीकरण र पुनर्कर्जाको सुविधा दिन अर्थ समितिको निर्देशन

Leave a Reply

Your email address will not be published.