Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

सिँचाइ सुविधाले भरतपुरका खेत चैते धानले हराभरा   


चितवन ।  केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।   भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउँछन् । “पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा गरिब गनिन्थे ,”उनले सुनाए ।

कतिपयले त विवाह गरेर छोरी दिनुपर्दा टाँडी जमिन हुनेलाई दिनसमेत हिच्किचाउने गरेको पनि उनी सम्झिन्छन् । “कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ,”उनले भने ।

भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन थिए । उनले करिब दुई बिघा क्षेत्रफलमा लगाएकाे धानखेती  सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै थिए । “सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ,”उनले भने । सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए ।

स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउँछन् ।  सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उनले अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहेका छन् ।

विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उनले बताए । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारीखेती गर्न थालेको उनले बताए । सिँचाइले गर्दा परिवारकाे आयआर्जनमा सहयोग पुगेको उनकाे अनुभव छ ।

स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउँछन् । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको उनले बताए ।

भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलोपटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताइन् । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उनले बताइन् ।

आफू प्रमुख भएर आएपछि सात हजार बिघामा थप सिँचाइ भएको उनकाे दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै उनले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताए । “म पहिलोपटक निर्वाचनमा उम्मेदवार हुँदा पश्चिम चितवनका सुक्खा क्षेत्रका मतदाताले सिँचाइ माग गर्नुभएको थियो । त्यो क्रमशः पूरा हुँदै गएको छ,”दाहालले भनिन् ।

यकिन तथ्याङ्क नभए पनि नेपालमा छोटो समयमा धेरै क्षेत्रमा भूमिगत सिँचाइ भरतपुरमै भएको महानगरप्रमुख दाहालले बताइन्। हिउँदमा पनि सिँचाइ गर्न नारायणी लिफ्ट आयोजनामा २९ करोड रुपैयाँभन्दा बढी खर्च गरेर पम्प थप्ने काम भइरहेको उनले बताइन् ।

महानगरले विगत३ आर्थिक वर्षमा साना सिँचाइका लागि ४७८ वटा बोरिङ र मझौला सिँचाइका लागि ५५ वटा बोरिङ किसानलाई वितरण गरेको छ । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा २ हजार ३ सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरपालिकामा मात्रै १ हजार ५ सय ८७ हेक्टर क्षेत्रफल सिञ्चित हुने आयोजना सञ्चालनमा आइसकेका छन् ।


Read Previous

गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, चुमनुब्री-नार्पाभूमि सडककाे ‘डिपीआर’ तयार   

Read Next

कालीगण्डकी कोरिडोर सडक आयोजनाकाे बेनी-मालढुङ्गा खण्ड निर्माणमा बल्ल प्रगति   

Leave a Reply

Your email address will not be published.