Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

भूक्षयको कारण बन्दै ग्रामीण सडक   


गलकोट । हचुवाकाभरमा खनिएका ग्रामीण सडकका कारण भूक्षय र त्यसले निम्त्याएको जिउधनको क्षति बढ्न थालेको छ । पछिल्लो समय भइरहेका अधिकांश दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण सडक देखिएको छ ।

बागलुङको भुजीखोलामा गएको बाढी होस् या कुशीसेरामा गएको पहिरो होस् यी सबैको कारण ग्रामीण सडक रहेको पाइएको छ । भू तथा जलाधार कार्यालय पर्वतले दिएको तथ्याङ्कमा बागलुङ जिल्लामा तीन वर्षयतामात्रै एक दर्जनभन्दा धेरै बाढीपहिराको प्रमुख कारण सडक भएको उल्लेख गरेको पाइएको छ ।

विकासका गतिविधिमध्ये करिब तीन दशकदेखि ग्रामीण सडक खन्ने अभियान सुरु भएकामा अहिले घरघरमा सडक पुर्याउने होडका कारण भूक्षयले क्षति भइरहेको पाइएको हो । साविक धौलागिरि अञ्चलको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङको तुलनामा बागलुङमा सबैभन्दा बढी भूक्षयका घटना भएको भू तथा जलाधार कार्यालय पर्वतले जनाएको छ ।

स्थानीय जनश्रमदानबाट खनिने सडक अहिले ठूला उपकरणको सहायताले खनेर घरमै पुर्याउने परिपाटीका कारण ठूलाठूला बाढीपहिरो निम्ताउँदै जनधनको क्षति भएको हो । सोमध्ये बागलुङमा ठूला प्रकृतिको क्षति भएको पाइएको धौलागिरिलाई कार्यक्षेत्र बनाएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

२०७७ मा ३७ जनाको ज्यान जानेगरी आएको भुजीखोलाको बाढी, २०७९ को गलुवाको पहिरो, २०७९ मै जैमिनीको टुनीबोटमा रहेको दुई जनाको सडक पहिरोले मृत्यु भएको, त्यसैगरी, वडारे पहिरो, जैमिनी नगरपालिका– १ घ्यूराको पहिरो, जैमिनी–९ को पहिरो, काठेखोला गाउँपालिका–१ करिना पहिरो, निसीखोला गाउँपालिका–३ को लुटिहारा पहिरो, बागलुङ नगरपालिका–१० भकुण्डे जुके ढुङ्गा पहिरोको मुख्य कारण अव्यवस्थितरुपमा खनिएका ग्रामीण सडक हुन् । बाढी पहिरोले क्षति पु¥याएको आसपासका सयौँ घर गोठ पहिरोको उच्च जोखिममा पर्दै विस्थापित भइरहेका छन् ।

“वास्तवमा जनताको राहत र समृद्धिका लागि खनिएका सडक नै जनताको जनजीवन बर्बाद पारिरहेको र सडकले तत्कालै मात्र नभएर दीर्घकालीनरुपमा असर पुर्याएको छ”, पौडेलले भने, “यसको प्रत्यक्ष असर हामीले वर्षात्मा मात्रै देखे पनि अव्यवस्थितरुपमा खनिएका सडकले सवारी दुर्घटना निम्त्याउने, जमिनको सतहलाई घटाउँदै लैजाने र बर्षाद्मा बाढीपहिरो निम्त्याउने गरेको पाइएको छ, अब सडक खन्न बन्द गर्नुपर्ने अवस्था आएको हाम्रो निष्कर्ष हो, अव्यवस्थित सडकले निम्त्याउने जोखिम कम गर्न निरन्तर बजेट खर्च भइरहे पनि नागरिक सेचत हुन आवश्यक छ ।”

सडकले बाढीपहिरो मात्रै निम्त्याएको छैन वन–जङ्गल, रुख बिरुवाको विनाश भएको र जस्ले गर्दा वन्यजन्तु र बहुमूल्य जडीबुटीको अस्तित्वमा समस्या पार्दै आएको पौडेलको भनाइ छ । स्थानीय सरकारले हरेक वर्र्ष ग्रामीण सडकमा गरेको लगानीले जनतालाई राहत दिनुको सट्टा आहात दिन थालेको पाइएको छ । बाढीपहिरोले खेतीयोग्य जमिन बगर, उर्वराविहीन र क्षतिग्रस्त बनेका कारण उत्पादनमा समय ह्रास भएको स्थानीय किसान तुल्सीराम आचार्यले बताए ।

ग्रामीण सडक खन्दा वातावरणीय पक्षलाई ध्यानमा दिनु आवश्यक रहेको पौडेलको सुझाव छ । बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीगाउँमा सडक पुगेको पाँच वर्ष भयो । कटेरी गाउँको छेउबाट खनेको सडकले स्थानीयवासीलाई असहज भएको भन्दै अहिले बस्तीमुनिबाट खनिएको सडकले बस्ती नै बगाउने खतरा देखिएको छ ।

स्थानीयवासीले खाद्यान्न ढुवानी गर्दा सडक नपाएपछि तमानखोला गाउँपालिकाले जनताको मागअनुसार बस्तीमुनिबाट सडक विस्तार गरेको छ । बस्तीमुनिबाट सडक खन्दा बस्ती जोखिममा पर्ने भन्दै बस्ती छेउबाट खनिएको सडकले हामीलाई समस्या भयो भनेपछि कटेरी गाउँमा पुनःसडक खन्न बाध्य भएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

“तमानखोलामा सडकका कारण ठूलो क्षति भएको पाइएको छैन तर सानातिना क्षति भइरहेकै हुन्छन्, नागरिकले दैलोमै सडक खोज्छन्, भिर पाखा भएको गाउँमा दैलोमै सडक पुर्याउन सकिँदैन, हुँदैन पनि”, अध्यक्ष बुढामगरले भने, “तर कटेरीजस्ता भिरालो गाउँमा सडक गाउँमै पुर्याउनुपर्ने स्थानीयवासीको माग हुन्छ, विकास नगरौँ स्थानीयवासीको माग छ, विकास गरौँ विनाश हुन्छ ।”

सकभर सडक खन्दा कम क्षति हुनेगरी गाउँपालिकाले काम गरिरहेको उनकाे भनाइ छ । जथाभावी खनेका ग्रामीण सडकका कारण पानीका मुहान सुकाउने, कृषि उत्पादनमा ह्रास आउने, वातावरणीय र जलाधारीय अवस्थामा ह्रास आउने र समग्रमा जनताको जीवनस्तरमा प्रतिकूल प्रभाव पार्ने देखिएको छ ।


Read Previous

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु   

Read Next

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता   

Leave a Reply

Your email address will not be published. Required fields are marked *