Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र


गलकोट (बागलुङ) । बजेट अभावले ३  जिल्लाका ४ ठूला सडक आयाेजनाकाे  निर्माण रोकिएको छ । सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका २, म्याग्दी र बागलुङमा एक एक गरी ४ वटा ठूला सडक आयाेजनाको काम अहिले रोकिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका ४ ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार ४ सडक आयाेजना एक अर्ब १९ करोड ९२ लाख ९३ हजार रुपैयाँ लागतमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन ।

४ सडकलाई चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ दरले ४  करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको अधिकारीको भनाइ थियो । बागलुङ क्षेत्र नं १ को र म्याग्दीमा निर्माण भइरहेका सडकको ७ करोड १२ लाख ४७ हजार रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए ।

यी ४ सडक निर्माणका लागि एक अर्ब १९ करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा चालू आवमा ४ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले समस्या भएको भन्दै इञ्जिनियर अधिकारीले पटकपटक अर्थमन्त्रालयमा बजेट थप गर्न अनुरोध गरिएको जानकारी दिए ।

‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ क्षेत्र नं १ स्थित बागलुङ बजार अदालतदेखि चौपारी–सिगाना–चापाखर्क–गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको गत वर्ष ४८ प्रतिशत भौतिक प्रगति भए पनि दायित्व भुक्तानी नपाएपछि निर्माण व्यवसायीले यस वर्ष काम गर्न सकेको छैन ।

दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले सुरुमा कामलाई तीव्रता दिए पनि भुक्तानी नपाएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठले बताए । “गत वर्षको ३ करोड ३१ लाख ३ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ । चालू आवमा जम्मा एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि काममा फर्कन समस्या भएको हो”, उनले भने । श्रेष्ठले दायित्व भुक्तानी हुनासाथ काममा फर्कन बताउँदै बजेट थप्न आग्रह गरे ।

बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजारबाट मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक २०७९ मा  २५ करोड २० लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि काम रोकिएको हो । यस खण्डको १८ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।

एक वर्षमा २५ करोड रुपैयाँ लागतकाे सडकमा एक करोड रुपैयाँ बजेटले काम गर्न समस्या भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राज थापाले बताए ।

म्याग्दी जिल्लाको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण सकिएपनि बजेट अभावमा कालोपत्र हुन सकेको छैन । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीलाई गत वर्षको रु तीन करोड ८१ लाख ४४ हजार भुक्तानी दिन बाँकी छ । मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो–कुन्जे–टिटी–धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा बजेट अभावका कारण काम प्रभावित बनेको छ ।

तीन वर्षमा कालोपत्र गर्नेगरी ३८ करोड ८८ लाख ६१ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको उक्त खण्डको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडकमा गत वर्षको भुक्तानी दायित्व नरहे पनि चालू आवमा विनियोजन भएको एक करोड रुपैयाँले काम गर्न समस्या भएको निर्माण कम्पनीको भनाइ छ । ३८ करोड रुपैयाँ लागतको सडक निर्माणका लागि एक वर्षमा एक करोड रुपैयाँ मात्र बजेट आउँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख अनुक्षा घिमिरेले अर्थमन्त्रालयले आवश्यक बजेट नपठाउँदा काम गर्न समस्या भइरहेको बताए । उनले तीन जिल्लाका चार ठूला सडकको कालोपत्रको काम सुरु गर्ने समयमा बजेट कटौती हुँदा निर्माण व्यवसायीले काम छोडेर हिडेका बताए ।

“ठूला सडक सिगाना र रत्नेचौरको कामको प्रगति सम्झौता अघिनै सक्नेगरी अघि बढेको थियो । गत असारमा बजेट कटौती भएर भुक्तानी गर्न सकिएन । यो वर्ष भुक्तानीका लागि पर्याप्त बजेट छैन”, घिमिरेले भने, “अर्थमन्त्रालयमा बजेट थप गर्नका लागि समन्वय भइरहेको छ । हालसम्म बजेट थप नभएको अवस्थामा यो वर्ष चार वटै सडकमा काम नहुने देखिएको छ ।”


Read Previous

टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

Read Next

निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन ‘रुट परमिट’ जारी 

Leave a Reply

Your email address will not be published.