Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

ग्रामीण क्षेत्रसम्म विस्तार भएपनि नविकरणीय ऊर्जाको समतामूलक पहुँच र दीगोपनको अभाव


काठमाडौं । पछिल्ला वर्षहरुमा नविकरणीय ऊर्जाको विस्तार दुर्गम गाउँसम्म पुगे पनि त्यसको समतामूलक पहुँच र दीगोपनको अभाव रहेको विज्ञहरुले बताएका छन् । ललितपुरमा बिहीबार आयोजित ‘नविकरणीय ऊर्जामार्फत नेपालको ऊर्जा, पानी र खाद्य सुरक्षामा आइरहेका चुनौतिहरु समाधानको सम्भावना’ विषयक कार्यशालाका सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले नविकरणीय ऊर्जा उत्पादन गर्ने सक्ने क्षमता अधिक भएकाले ऊर्जामार्फत खाद्य सुरक्षा वृद्धि गर्न सकिने बताए ।

कार्यक्रममा ब्रिटिस दुतावासकी ऊर्जा सल्लाहकार रेशा पियाले ग्रामीण विद्युतीकरणको लागि अफग्रीड ऊर्जा महत्वपूर्ण रहेको बताइन् । लघुजलविद्युत् तथा सौर्य ऊर्जा मार्फत दुर्गम क्षेत्रमा विद्युत पहुँच वृद्धि गर्न र खाना पकाउनेलगायतका काममा उपयोग गर्न सहयोग पुगेको उनको भनाइ छ ।

सरकारले दक्षिण एशियाका अन्य देशको तुलनामा उत्कृष्ठ नीतिगत व्यवस्था गरेको भए पनि कार्यान्वयनको अभाव रहेको पियाले बताइन् । ‘सरकारले नेट मिटरिङ, भायबिलिटी ग्याप फण्डिङ लगायतका व्यवस्था गरेको भए पनि कार्यान्वयन प्रभावकारी छैन’ उनले भनिन् ।

नेपाल रिन्युयवल इनर्जी प्रोग्रामका डेपुटी टिम लिडर प्रेम सागर सुवेदीले भायबिलिटी ग्याप फण्डिङ संयन्त्रमा रहेर काम गर्दा योजनाहरु प्रभावकारी भएको बताए । यसले ग्रामीण क्षेत्रमा विद्युत् पहुँच वृद्धि गर्नुको साथै दीगो प्रणाली निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए । त्यसको लागि निजी क्षेत्रलाई व्यवसायिक रुपमा नाफा हुने प्रणालीगत व्यवस्थाको आवश्यकता रहेको बताए । ‘यसले वित्तीय निकायलाई पनि ग्रामीण विद्युतीकरण र नविकरणीय ऊर्जाका परियोजनामा लगानी गर्न आकर्षित गर्नेछ’ उनले भने ।

त्यस्तै, घाम ऊर्जाका चिफ अपरेटिङ अफिसर सुदीपबीर तुलाधरले सौर्य ऊर्जा परियोजनाको लागि वित्तीय संस्थाहरु लगानी गर्न नमानिरहेको बताए । यसको साथै स्थानीय स्तरमा नयाँ प्रविधिलाई सहज अपनाउने ज्ञान र अनुभवको कमी हुनुको साथै सौर्य ऊर्जा उत्पादन र सञ्चालन आउने चुनौतिलाई सहजीकर गर्न नीतिगत सुधारमा जोड दिए ।

कार्यक्रममा ग्रामीण प्रविधि केन्द्रकी निर्देशक डा. अञ्जु शर्माले प्रविधि उपलब्ध हुदैमा प्रयोगकर्ताले प्रभावकारी उपयोग नगर्ने बताइन् । ‘प्रविधिबारे व्यापार चेतना विस्तार गरिनु आवश्यक छ’ उनले भनिन् ।

कार्यक्रममा एइपिसीका कार्यकारी निर्देशक डा.नवराज ढकालले देशको कुनै पनि क्षेत्रमा सौर्य वा विद्युत् ऊर्जाको प्रयोगले पेट्रोलियम पदार्थको खपतलाई विस्थापन गर्नमा सहयोग पुग्ने बताए । ‘यसको साथै दीगो विकास लक्ष्यलाई हासिल गर्न सकिनेछ’ उनले भने ।

कार्याशालामा इण्टरनेशनल वाटर म्यानेजमेण्ट इस्टिच्युटका सिनियर रिसर्च फेलो डा. अविनाश किशोरले भारत, बंगलादेश र नेपालमा भइरहेको विद्युतीय पम्पको प्रयोगबाट सिचाइ गर्ने प्रणालीको बारेमा अनुभव साटेका थिए । त्यस्तै, अध्येता शिशिर श्रेष्ठले मध्य पहाडमा सोलार लिफ्ट इरिगेशन सिस्टमबारे गरेको अध्ययनबारे प्रस्तुती दिएका थिए ।

कार्यक्रम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपीसी), इण्टरनेशनल वाटर म्यानेजमेण्ट इस्टिच्युट, इण्टरनेशनल फूड पोलिसी इस्टिच्युट, सीजीआइएआर, नेक्कस गेन्स इनिसिएटिभ लगायतका संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।


Read Previous

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

Read Next

‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’

Leave a Reply

Your email address will not be published.