Nepal Purbadhar

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ ।

विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

महिनाविद्युत् निर्यात (रुपैयाँ) २०७९प्रति युनिट औसत दर (रुपैयाँ) २०७९विद्युत् निर्यात (रुपैयाँ) २०८०प्रति युनिट औसत दर (रुपैयाँ) २०८०
साउन१ अर्ब ९४ करोड ३१ लाख८.२९२ अर्ब १४ करोड ७६ लाख८.३९
भदौ२ अर्ब ५४ करोड ६६ लाख९.३३३ अर्ब ४७ करोड ८५ लाख११.२४
असोज१ अर्ब ७१ करोड १२ लाख६.६४४ अर्ब १७ करोड ७७ लाख९.७३
कात्तिक१ अर्ब ४३ करोड ५६ लाख६.५६२ अर्ब ६९ करोड ७० लाख७.३६
जम्मा७ अर्ब ६३ करोड ६४ लाख७.७६१२ अर्ब ५० करोड ८ लाख९.१८

                                                        स्रोत : नेपाल विद्युत प्राधिकरण

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।


Read Previous

इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड

Read Next

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : ८० हजार पर्यटकले गरे भ्रमण