भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।
गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । पुल बगेपछि यहाँका बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले जानकारी दिए । खोलामा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय आउनुपर्ने स्थिति छ ।
“बाढीले पुल बगाउँदा जनजीवन प्रभावित भएको छ”, उनले भने “पुलको कारण बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ । पानी परेको अवस्थामा उनीहरुलाई झनै जोखिम छ ।” खोलामा चाँडो पुल बनाउन यहाँका बासिन्दाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसित माग गरेका छन् । ज्यानलाई जोमिखमा राखेर खोला तर्नुपर्ने अवस्था रहेको कक्षा ११ मा पढ्ने छात्र दीपक विष्टले बताए । खोला तर्दा किताब, कपीसँगै कपडा भिज्ने गरेको विष्टको भनाइ छ ।
कहिलेकाहीँ बाटोमा हिँड्ने मानिसको सहायताले खोला पार गर्ने गरेको उनको भनाइ छ । “उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनुपरेको छ”, उनले भने, “किताब, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कापी त कहिले जुत्ताचप्पल खोलामा बग्छन् । हामी ४०–५० जना साथी यसरी नै विद्यालय जानेआउने गरेका छौँ ।” रासस