
काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको असन क्षेत्रलाई सवारीमुक्त बनाउँदै ‘भेहिकल फ्री असन’ अभियान २०८३ वैशाख ५ गतेदेखि सुरु हुने भएको छ। हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरी धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
यसअघि चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी भए पनि तयारीलाई थप व्यवस्थित बनाउन एक साता पछाडि सारिएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडा अध्यक्ष योगेश खड्गी, प्रशासन विभाग प्रमुख महेश काफ्ले, सम्बन्धित निकायका अधिकारी तथा स्थानीय संघसंस्था, क्लब र समुदायका प्रतिनिधिहरूको सहभागितामा वैशाख ५ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले असनलाई “सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक आवश्यकताको केन्द्र” भन्दै यसको मौलिकता जोगाउनु सबैको दायित्व भएको बताइन्। उनले वडा कार्यालयको नेतृत्व, सरोकारवाला निकायको सहभागिता र स्थानीय अपनत्वमार्फत कार्यक्रमलाई दिगो बनाइने उल्लेख गरिन्।
वडा अध्यक्ष योगेशकुमार खड्गीले स्थानीय संघसंस्था र समुदायको सहकार्यमा कार्यक्रम अघि बढाइएको बताउँदै यसले असन बजारको मौलिकता संरक्षणसँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमअन्तर्गत वडा नं. २७ को कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेश रोक लगाइनेछ। ती क्षेत्रमा जाने सवारीलाई वैकल्पिक मार्ग व्यवस्था गरिनेछ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, ट्राफिक प्रहरी तथा महानगर प्रहरी बलले यातायात व्यवस्थापन, पैदलमार्ग सञ्चालन र सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउने बताएका छन्। महानगरपालिकाले यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्दै रैथाने व्यापार प्रवर्द्धन, मौलिक सांस्कृतिक कार्यक्रम सञ्चालन तथा सामाजिक गतिविधि विस्तार गर्ने जनाएको छ।
