
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गर्नुभएको छ। सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्य अघि सारेको सन्दर्भमा मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन्।
आज बिहानदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसमक्ष आफ्ना समस्या र गुनासा राखिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा समस्यामा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन्।
छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उहाँले भन्नुभयो।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ।
यस पहलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ।
