
काठमाडौं । सडक विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि डा. विजय जैसी हड्खलेले छोटो अवधिमै विभागको कार्यशैली, परिणाम र सेवामा स्पष्ट सुधार देखाएका छन् । २०८१ साल जेठ १२ गतेपछि उनले लिएका नीतिगत तथा व्यवस्थापकीय पहलले सडक पूर्वाधार, आपतकालीन व्यवस्थापन, प्रविधि प्रयोग र संस्थागत सुधारमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
आर्थिक वर्षको अन्त्यतिरकझ संवेदनशील समयलाई सदुपयोग गर्दै निर्माण कार्य र रकमान्तर प्रक्रियामा तीव्रता दिइँदा सडक विभागको पुँजीगत खर्च करिब दुई महिनामै ४८ प्रतिशतबाट बढेर ७५.३८ प्रतिशत पुगेको छ । जसमा उनले गरेका सुझबुझपूर्ण निर्णयले भुमिका खेलेको छ । लामो समयदेखि सुस्त देखिएको खर्च कार्यान्वयनमा आएको यो सुधारलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

डा. जैसीको नेतृत्वमा प्रमुख राजमार्गहरूको अवस्था पनि अनुभूति हुने गरी सुधार गरिएको छ। गएको असोज ११–१२ गतेको विपद्पछि क्षतिग्रस्त विपी राजमार्गमा महानिर्देशक नियुक्त भएलगत्तै स्थलगत निरीक्षण गर्दै नदी नियन्त्रणका लागि उपयुक्त डिजाइनसहित बलियो तटबन्ध निर्माण भएको । हाल उक्त राजमार्ग बन्द नभई सुचारु अवस्थामा छ। यस्तै, लामो समयदेखि आलोचित धुलिखेल–खावा सडकको अवस्था सुधार, नेपाली सेनासँगको सहकार्यमा महाकाली पुलको रिभर ट्रेनिङ मर्मत गरी यातायात सुचारु, तथा नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने आसपासको सडक सुधारले यात्रु र व्यवसायीलाई राहत दिएको उनले बताए ।
जैसीका अनुसार सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै विभागको काम छिटोछरितो बनाउन कन्ट्रयाक मेनेजमेन्ट सफ्टवेयर (CMS) लगायतका उपकरण अद्यावधिक गरिएको छ । सडक बन्दसम्बन्धी जानकारी दिने ‘रोड क्लोजर एप’ तयार गरिएको छ भने आधिकारिक फेसबुक ह्यान्डलमार्फत सूचनाको तत्काल सम्प्रेषण सुरु गरिएको छ ।

आपतकालीन अवस्थामा सडक खुलाउन पनि विभाग सक्रिय देखिएको छ । उत्तरमा चीन जोड्ने स्याफ्रुबेसी–रसुवागढी र अरनिको राजमार्गको बाह्रविसे–कोदारी खण्डमा आएको ठूलो पहिरो हटाई यातायात सुचारु भएको छ । बाढीबाट क्षतिग्रस्त सबै राजमार्गहरूको इमर्जेन्सी मर्मत गरी सञ्चालनमा ल्याइएको उनले दाबी गरेका छन् ।
संस्थागत सुधारअन्तर्गत विभागीय गाइडलाइन तथा मापदण्डहरू प्रकाशन र अद्यावधिक गरिएको उनको भनाइ छ । लेटेष्ट एमेन्डमेन्ट सहितको स्टयाण्डर्ठ स्पेशिफिकेसन फर रोड एण्ड ब्रिज, ग्राभेल लस म्यानुअल स्वीकृति तथा रोड एण्ड ब्रिज वर्कको रेट एनालाइसिस सम्बन्धी मापदण्ड संशोधनको प्रक्रिया अघि बढाइएको छ ।
उनका अनुसार लामो समयदेखि चर्चामा रहेको ग्वार्को फ्लाइओभर परियोजनामा देखिएका प्राविधिक समस्या समाधान गरी हालैदेखि फ्लाइओभर सञ्चालनमा ल्याइएको छ । यस्तै, नेपालमै अहिलेसम्मकै लामो हेवा खोला बेली ब्रिज निर्माण सम्पन्न गरी यातायात सुचारु गरिएको छ । सो अवसरमा साइटमै आधारित तालिममार्फत सडक विभागभित्र ३० जना प्राविधिक जनशक्ति उत्पादन गरिएको उनले बताए ।
सडक प्रयोगकर्तालाई जानकारी दिन राजमार्गहरूमा व्यापक रूपमा सूचना बोर्ड राख्न थालिएको छ । नेपालकै पहिलो आधुनिक नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक दस्तावेज स्वीकृत भएका छन् । अहिले सञ्चालनका लागि सेवा प्रदायक छान्ने काम अघि बढेको छ । सेवा प्रदायक चीनका प्राध्यापकहरूलाई नेपाल ल्याई राम्दीस्थित निर्माणाधीन कंक्रिट फिलड स्टील ट्युब पुलमा कंक्रिट फिल गर्ने प्रविधि सिकेर सफलतापूर्वक कार्य सम्पन्न गरिएको छ ।
रुग्ण ठेक्काको समस्या समाधानतर्फ पनि ठोस पहल भएको उनको दाबी छ । निर्माण व्यवसायीका कारण रुग्ण बनेका २३५ ठेक्कामध्ये ४० ठेक्का तोडिएको छ भने करिब डेढ सय ठेक्का कारबाही प्रक्रियामा छन् । तोडिएका ठेक्काको पुनः खरिद प्रक्रियाका लागि नयाँ टेण्डर आह्वानको तयारी गरिएको छ ।

ठूला संरचनातर्फ, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माणका लागि डिजाइन स्वीकृत भई काम सुरु भएको छ । तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माणका लागि टेण्डर आह्वान गरिएको छ भने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती–पथलैया खण्डका लागि अन्तर्राष्ट्रिय बोलपत्रको सूचना प्रकाशित भएको छ ।
सडक विभागको इतिहासमै पहिलो पटक २४ घण्टा सञ्चालन हुने कल सेन्टर स्थापना गरिएको छ । साथै, जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलन, सवारी साधन व्यवस्थापन, क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा प्रवाह पुनः सञ्चालन गरिएको छ ।
कर्मचारी व्यवस्थापनमा सुधार गर्दै सरुवाका लागि मापदण्ड लागू गरिएको छ। विपी राजमार्गलाई अस्थायी रूपमा तत्काल सञ्चालन र स्थायी पुनर्निर्माणका लागि ठेक्का व्यवस्थापन गरिएको छ । आबुखैरेनी–मुग्लिन सडकखण्डको राइट अफ वे केन्द्रदेखि दुवैतर्फ १५ मिटर कायम गरिएको छ ।
काठमाडौं जिल्लाका सामरिक महत्वका सडकमा रहेका खाल्डाखुल्डी तत्काल मर्मतका लागि ‘सडक एम्बुलेन्स’ तथा मोबाइल टिम सञ्चालनमा ल्याइएको छ । स्थानीय अवरोधका कारण बन्द रहेको तातोपानी नाका स्थलगत निरीक्षण र सहमतिमार्फत पुनः खुलाइएको छ । काठमाडौं–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको इकोमा सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था गरी टेण्डर आह्वान गरिएको छ ।
छोटो अवधिमै देखिएका यी सुधारले सडक विभागमा परिणाममुखी नेतृत्वको सन्देश दिएको भन्दै सरोकारवाला पक्षले सकारात्मक प्रतिक्रिया जनाउन थालेको उनले बताए ।
