Nepal Purbadhar

केन्द्र सरकारले लागु गर्न नसकेको नि:शुल्क उपचार काठमाडौं महानगरले गर्‍यो, २०४ जनाले लिए सेवा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट २०४ जना विपन्न, असहाय र वेवारिसेले सेवा प्राप्त गरेका छन् । सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका छन् ।

महानगरकाअनुसार यस्ता सेवाहरूमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रियालगायत रहेको छ ।

दोस्रोमा फेमिली मेडिसिन सेवा छ । यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन् । ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायुको, १३ जनाले श्वासप्रश्वाश सम्बन्धी, १२ जनाले मुत्र प्रणाली तथा पिसाव सम्बन्धी समस्यामा सेवा लिएका छन् ।

सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिएका छन् । काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जनाले, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा लिएका छन् ।

सेवा प्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिएका छन् । यस्तै गण्डकी प्रदेशका ३२ जनाले, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदुर पश्चिम प्रदेशका १५ जना विरामीले सेवा लिएका छन् । यो करिब ७४ लाख १६ हजार रुपियाँ खर्च बराबरको उपचार सेवा हो ।

यो संख्या सेवा प्रारम्भ भएको मिति २०८० फागुन १ गतेदेखि अहिलेसम्मको हो ।

लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो । सेवालाई सहजीकरण गर्न महानगरपालिकाको स्वास्थ्य विभागमा फोकल पर्सनको प्रबन्ध गरेर सहजीकरण हुने गरेको छ । यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या महानगरपालिकाको प्रणालीमा आवद्ध भएका छन् ।

विरामीहरूले सेवा लिने प्रक्रिया तथा आवश्यक कागजात, कुन अस्पतालमा कुन सेवा उपलब्ध छ, उपचारका लागि शैया (बेड) खाली छ वा छैन लगायतका अन्य विवरण www.freehealth.kathmandu.gov.np मा हेर्न सकिन्छ। लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी अनलाइन प्रणाली हेर्न यहाँ क्लिक गर्न सकिने महानगरले जनाएको छ ।

थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क कल सेन्टर ११८० मा फोन गर्न सकिने महानगरले जनाएको छ ।

Facebook Comments

Read Previous

इन्द्रजात्राको तयारी धमाधम (तस्बिर समाचार)

Read Next

यस्तो छ प्रहरीले छापा मार्दा चार करोड नगद बरामद भएको घर (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar