
एजेन्सी । टेस्ला चीनले मोडल ३ लङ रेंज रियर–ह्वील ड्राइभ को मूल्य घटाएको छ ।
कम्पनीले यो गाडीको मूल्य १० हजार युआन (करिब १ हजार ४ सय अमेरिकी डलर) घटाएर अहिले २ लाख ५९ हजार ५०० युआन (३६ हजार ७० अमेरिकी डलर) मा पुर्याएको छ । यो मूल्यसमायोजन गाडी सार्वजनिक गरिएको एक महिनाभन्दा कम समयमै गरिएको हो ।
८३० किलोमिटरको दाबी गरिएको दायरा र ० देखि १०० किमी/घन्टा वेगमा पुग्न ५.२ सेकेन्ड समय लाग्ने मोडल ३ लङ रेंज गत अगस्ट १२ मा प्रारम्भिक मूल्य २ लाख ६९ हजार ५०० युआन (३७ हजार ४७० अमेरिकी डलर) मा बजारमा ल्याइएको थियो । नयाँ मूल्य आजदेखि लागू हुनेगरी कम्पनीको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । यससँगै मोडल ३ का चारै भेरियन्टको दायरामा सुधार गरिएको पनि जनाइएको छ ।
यो मूल्य कटौती हालसालै अगस्ट १९ मा चिनियाँ बजारमा प्रवेश गरेको मोडल वाईएल भेरियन्टको सुरुवाती मूल्य ३ लाख ३९ हजार युआन (४७ हजार १२० अमेरिकी डलर) राखिएको केही दिनमै आएको हो ।
तर चिनियाँ बजारमा टेस्ला प्रतिस्पर्धा र बिक्रीमा दबाब सामना गरिरहेको छ । चाइना प्यासेन्जर कार एसोसिएशन का तथ्यांक अनुसार साँघाई गिगाफ्याक्ट्रीबाट भएका बिक्रीमा कमी आएको छ ।
सन् २०२५ को जुलाईमा बिक्री ६७ हजार युनिट मात्र भएको छ, जुन २०२४ को जुलाईमा भएको ७४ हजार युनिट भन्दा ८.४% कम हो । यस्तै २०२५ को जुनको ७१ हजार युनिट को तुलनामा पनि ५.२% घटेको छ । सन् २०२५ को जनवरीदेखि जुलाईसम्म चीनमा टेस्लाको बिक्री जम्मा ४ लाख ३२ हजार युनिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ लाख युनिट भन्दा १३.६% कम हो ।
बजारको यस दबाबलाई ध्यानमा राख्दै टेस्लाले नयाँ मोडल सार्वजनिक गर्ने र मूल्य रणनीति अपनाउने कामलाई तीव्र पारेको छ । हालै सार्वजनिक मोडल ३ लङब रेंज आरडब्लुडी र मोडल वाइएलसँगै कम्पनीले अझ सस्तो भर्सनको मोडल वाई पनि ल्याउने तयारी गरेको छ । यस वर्षको दोस्रो त्रैमासिक नाफा विवरण सार्वजनिक गर्दा टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले उक्त सस्तो गाडी यो वर्षको अन्त्यसम्म ल्याइने र २०२५ को दोस्रो अर्धवार्षिकदेखि यसको व्यापक उत्पादन सुरु हुने बताएका थिए ।