
काठमाडौं । सरकारले यही असोज १ देखि निजी तथा सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई अनिवार्य कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
२०८२ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालयहरूबाट २०८२ असोज १ गतेबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने सूचना यातायात व्यवस्था विभागबाट सार्वजनिक भएसँगै यसको चौतर्फी जनस्तरबाटै विरोध भइरहेको छ ।

अहिले अधिकांश सवारी साधनमा हातले लेखिएको परम्परागत नम्बर प्लेट प्रयोग हुँदै आएको छ, जसलाई सजिलै हटाउन वा फेर्न सकिने हुँदा सवारीसाधन चोरी भई विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढेसँगै यसको नियन्त्रणका लागि पनि इम्बोस्ड नम्बर सही विकल्प रूपमा इम्बोस्ड नम्बर रहेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा रहेको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन टेक्नोलोजी (आरएफआईडी) चिपले सवारीसाधनको गतिविधि ट्र्याक गर्न मद्दत गर्ने हुँदा, यदि गाडी हराए वा चोरी भए त्यसलाई पत्ता लगाउन र कुन सवारीसाधन कहाँ गइरहेको छ भन्ने वास्तविक प्राप्त गर्न पनि सहयोग पुर्याउँने बताइएको छ ।

यातायात व्यवस्था कार्यालय गुर्जुधारामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कार्यालय समय भन्दा अगाडीबाटै सेवाग्राहीको भीड लाग्ने गरेको छ । नम्बर प्लेट जडानका लागि नै दिन भारी जस्तै समय लाग्ने सेवाग्राहीको गुनासो छ । प्लेटका लागि बैंकिङ कारोबार लगायत विभिन्न प्रक्रिया पूरा गर्नै घण्टौँ समय लाग्ने गरेको भक्तपुरबाट आएका सेवाग्राही सीताराम हेम्बाले बताए । बिहान ९ बजे आएका उनी दिउँसोको २ बज्दा सम्म पनि काम नसकिएको गुनासो उनको छ ।

त्यस्तै, बसुन्धाराबाट आएका अर्का सेवाग्राही राजु उपाध्याय अनुसार नम्बर प्लेट लिने एउटा ठाउँ र त्यसको स्ट्यान्ड र स्क्रु लिने अर्को ठाउँ जानु पर्ने र इम्बोस्ड नम्बर प्लेटको बिल समेत नदिएको उनको गुनासो छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इम्बोस्ड डिजिटल्ली रिडेबल हुने भएकाले सवारीसाधनको तथ्याङ्क व्यवस्थापन गर्न र सोही अनुसार नीति बनाउन पनि यसको फाइदा रहेको उनले जनाए ।

पोखरेलकाअनुसार परम्परागत नम्बर प्लेटभन्दा फरक धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखी प्रचलनमा रहेभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ, जसमा रेट्रो रेफ्ल्याक्टिङ अर्थात् कम प्रकाशमा पनि चम्कने र सवारीको नम्बर सजिलै पढ्न सकिने खालको हुन्छ ।

उनले भने, ‘यस नम्बर प्लेटमा जडान गरिएको प्रविधियुक्त चिप्समा सवारी धनी र सवारीको विवरण समेत समेटिएको हुन्छ ।’
यसमा प्रयोग गरिएका अक्षर र अंक फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेटबाट अनुगमन तथा तथ्याङ्क संकलन गर्न सकिने पोखरेलले जानकारी दिए ।

परम्परागत सवारीसाधन प्रयोग गरिएका हातले लेखिएका नम्बर प्लेट चोरी भए सजिलै नम्बर प्लेट फेर्न सकिने र ती सवारीसाधनहरू आपराधिक कार्यमा प्रयोग हुन सक्ने सम्भावनासमेत रहने तथा गाडीको ट्र्याक राख्न पनि समस्या भएकाले सरकारले यो समस्या समाधानका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनिवार्य गरिएको पोखरेलले बताए । सरकारले गाडीको ट्रयाकिङ गर्न सकिने र सबै गाडीमा एकरूपता ल्याउन सकिने इम्बोस्ड नम्बर प्लेटको अवधारणा ल्याइएको उनले बताए । एक पटक जडान गरेपछि निकाल्न नमिल्ने हुनाले पनि सवारी चोरी गरेर चलाउन असम्भव जस्तै रहेको छ ।

हाल इम्बोस्ड नम्बर प्लेटको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) ट्र्याक पढ्न काठमाडौँको नागढुंगा र माछा पोखरी क्षेत्र (नुवाकोट जाने) जडान गरिएको छ भने काठमाडौँमा थप दुई ठाउँमा गेट बनाउने काम भइरहेको छ। काठमाडौँ उपत्यका बाहेक वीरगन्ज, पोखरा, बुटवललगायत १० ठाउँमा (आरएफआईडी) गेट जडान गरिने पोखरेलले बताए । यसबाट गाडीको आवागमन ट्र्याक गर्न सजिलो हुने उनी बताउँछन् ।

अहिले सम्पूर्ण यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहेका कारण सेवा प्रवाहलाई सहज बनाउनका लागि काम भई रहेको उनले जानकारी दिए ।
तस्बिर/भिडियो : सफल प्रकाश श्रेष्ठ र सरोज शाही









