
काठमाडौँ । आजको डिजिटल जीवनशैलीमा स्मार्टवाच केवल समय हेर्ने साधन मात्र नभई स्वास्थ्य, फिटनेस र सञ्चारका लागि आवश्यक साथी बनेको छ । यही प्रवृत्तिलाई ध्यानमा राख्दै शाओमीको सह–ब्रान्ड रेडमीले नेपालमा दुई नयाँ मोडल—रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) सार्वजनिक गरेको छ ।
यी दुवै स्मार्टवाचमा लामो समय टिक्ने ब्याट्री, बलियो संरचना र स्वास्थ्य तथा फिटनेस निगरानीका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ ।

रेडमी वाच ५ एक्टिभ
४,९९९ रुपैयाँ मूल्य तोकिएको रेडमी वाच ५ एक्टिभमा २ इन्चको उज्यालो डिस्प्ले रहेको छ, जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखाउँछ । यसको ब्याट्री १८ दिनसम्म टिक्ने क्षमता भएको छ । यसमा भ्वाइस कमाण्डमार्फत चल्ने एलेक्सा, १४० भन्दा बढी खेल मोड र धातुको मजबुत संरचना जस्ता सुविधा समावेश छन् ।
रेडमी वाच ५ लाइट
प्रिमियम मोडलका रूपमा उपलब्ध रेडमी वाच ५ लाइटको मूल्य ७,४९९ रुपैयाँ तोकिएको छ । यसमा जीएनएसएस प्रविधि प्रयोग गरिएको छ, जसले पाँचवटा स्याटेलाइट नेटवर्कसँग एकैपटक जोडिएर स्थान ट्र्याकिङ अझ सटीक बनाउन सहयोग गर्छ । १.९६ इन्चको एमोलेड डिस्प्ले, डुअल माइक्रोफोन सेटअप, ५एटीएम पानी प्रतिरोध र १५० भन्दा बढी वर्कआउट मोडहरू यसको थप विशेषता हुन् ।

कम्पनीका अनुसार यी दुवै मोडलले लामो ब्याट्री जीवन, सहरी वा ग्रामीण क्षेत्रमा भरपर्दो नेभिगेसन र टिकाउ संरचनाको सुविधा दिएर बजारमा देखिने प्रायः समस्या समाधान गर्ने उद्देश्य राखेका छन् ।
रेडमीका यी स्मार्टवाचहरू प्रविधि प्रदर्शन मात्र नभई सक्रिय जीवनशैली, स्वास्थ्य सचेतना र व्यावहारिक प्रयोगलाई ध्यानमा राखी तयार पारिएको कम्पनीले जनाएको छ । यी मोडलहरूले नेपालमा बढ्दो स्मार्ट प्रविधि संस्कृतिलाई अझ मजबुत बनाउन योगदान दिने अपेक्षा गरिएको छ ।