Nepal Purbadhar

जलविद्युत क्षेत्रमा ऐतिहासिक दिन, निजी क्षेत्रले गर्‍यो सबैभन्दा ठूलो लगानी


काठमाडौं । निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटेको छ ।

साहस ऊर्जाको सहायक कम्पनी टाइम्स इनर्जीले अहिलेसम्मकै ठूलो फाइनान्सियल क्लोजर गरेको हो । यो आयोजनामा एनआईएमबी बैंकको नेतृत्वमा आधा खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

३४१ मेगावाटको यो आयोजनामा सबैभन्दा धेरै लगानी गर्दै एनआईएमबी बैंकले यो कन्सोर्टियम फमको लिड गरेको छ ।

एनआईएमबी बैंकले १० अर्ब रुपैयाँ गर्ने भएको छ। 

सह-नेतृत्व गर्ने लक्ष्मी बैंकले ८ अर्ब रुपैयाँ, नविल बैंकले ८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ अर्ब रुपैयाँ, माछापूच्छ्रे बैंकले ४ अर्ब रुपैयाँ, सिटिजन बैंकले ३ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब रुपैयाँ, कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड बैंकले ४ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।

स्वपुँजीबाट १७ अर्ब ५० करोड रुपैयाँ जुटाइनेछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा लगानी सम्झौता भएको हो । यस अघि साहस ऊर्जाले निजी क्षेत्रकै ठूलो ८६ मेगावाटको दुधकोसी जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ ।

आयोजना गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण हुनेछ ।

प्रस्तावित आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको आयोजना हो । यसको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजनाको दैनिक ५ घन्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ । यसको डिजान बहाज १००.२७ घनमिटर प्रति सेकेण्ड र कुल हेड ३९८ मिटर रहनेछ ।

बुढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने  इन्टेकबाट पानीलाई फर्काइ आयोजनाको मुख्य  संरचनाहरूः सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै विद्युतगृहमा पुर्याउनेगरी डिजानइ तयार भएको छ । भूमिगत विद्युतगृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्वाइनमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारणलाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ 


Read Previous

हटाउन थालियो हनुमानढोका दरबार क्षेत्रमा हालिएको कङ्क्रिट

Read Next

कसरी गर्ने विद्युत अनुमति पत्र व्यस्थापन र सेवा प्रवाह?

Nepal Purbadhar