
काठमाडौं । सरकारले विद्युत् निर्यातमा ऐतिहासिक सफलता हासिल गरेको छ । नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो। निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण कोशे ढुङ्गा साबित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए ।
गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको भए पनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । यसले नेपाललाई ‘खुद आयातकर्ता’ बाट ‘खुद निर्यातकर्ता’ बन्ने यात्रामा थप मद्दत पुगेको मन्त्री खड्काले बताए ।

विद्युत् निर्यातको यो सञ्जाल केवल भारतमा सीमित छैन। बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ। बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ, जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ।
हालसालै नेपालले बंगलादेशमा पहिलो पटक व्यावसायिक रूपमा डलरमा विद्युत् निर्यात थालेको थियो । भारत, बंगलादेश र नेपालबिचको त्रिपक्षीय सहकार्य, राजनीतिक समझदारी र प्राविधिक तयारी मन्त्री खड्काको संयोजकत्वमा तीव्र गतिमा अगाडि बढाइएको थियो। भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडमार्फत बंगलादेशसम्म बिजुली पुर्याउने रणनीति पनि यो नेतृत्वकै दूरदर्शी पहलको सन्दर्भमा मूल्यांकन गर्न सकिन्छ।
वर्षा याममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठुलो लाभ दिइरहेको छ। साथसाथै, भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ।
नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बंगलादेशसम्म पुग्न थालेको छ।