Nepal Purbadhar

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म: १९ चार पांग्रे ब्रान्ड, १२५ भन्दा बढी प्रदर्शक


काठमाडौं । नाडा अटो शो को यो वर्षको संस्करण भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । 

‘नाडा अटो शो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय’ नाम दिइएको यो प्रदर्शनी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुन लागेको हो ।

कार्यक्रमबारे जानकारी दिन मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम आयोजक समितिले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो।’

“गो फर मोर (Go For More)” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने नाडाले जनाएको छ। 


नाडा अटो शो २०२५ मा यसवर्ष स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे ‘युनिट्री (UNITREE) रोबोट्स’, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक डिपल ईभीटोल युएभी (Deepal eVTOL UAV), १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरूलगायत रहनेछन् ।

कार्यक्रममा विशेष आकर्षणका रुपमा ऐतहासिक गाडीहरुको प्रदर्शनी पनि राखिएको छ । यसमा मोरिस माइनर, बिटल, मिनि कुपर, मर्सिडिज बेन्जलगायतका विभिन्न गाडीहरु देखाइनेछ ।

साथै, प्रदर्शनीमा ‘मेड इन नेपाल’ पभेलियनका रुपमा स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी पनि राखिएको छ । 

१ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको प्रदर्शनीका लागि ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र छुट्याइएको छ । 


Read Previous

यातायात कार्यालय पुग्ने बाटो कै बिजोग

Read Next

कुलिङ पिरियड छानबिन विशेष समितिले सभामुख देवराज घिमिरे लाई बुझाए प्रतिवेदन

Nepal Purbadhar