
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) द्वारा आयोजना हुँदै आएको ऊर्जा क्षेत्रको प्रतिष्ठित सम्मेलन पावर समिट २०२५ को मिति परिवर्तन गरिएको छ । समिट आगामी असोज २९ र ३० गते (अक्टोबर १५–१६, २०२५) सोल्टी होटल, काठमाडौंमा आयोजना हुने भएको हो ।
यसअघि समिट असोज १ र २ गतेका लागि तय गरिएको थियो । तर, सोही अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागीता हुने भएपछि समिटको मिति सरेको इप्पानले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
सन् २००६ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौं संस्करण हो। समिटको यस संस्करणको नारा ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ रहेको छ।
इप्पानले मिति परिवर्तनका कारण सेवाग्राही तथा सहभागीहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नयाँ मितिमा समिटलाई सफल बनाउन सबै सरोकारवालाहरूको सहकार्यको अपेक्षा राखेको छ ।
समिटमा सरकारको २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्याउने लक्ष्यलाई सघाउने रणनीतिबारे व्यापक छलफल गरिनेछ। साथै, नेपालबाट क्षेत्रीय विद्युत व्यापारलाई अघि बढाउने विषयमा ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, सरकारी तथा निजी क्षेत्र, विज्ञ, विश्वविद्यालय, बैंक, बीमा, निर्माण तथा परामर्श कम्पनी लगायतका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्वमा आयोजना हुने यो समिटमा भारतीय राजदूतावास कन्ट्री पार्टनरको रूपमा रहनेछ । समिटको उद्घाटन प्रधानमन्त्रीज्यूबाट गराउने तयारी गरिएको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार, नेपालको हरित ऊर्जा न केवल देशको समृद्धिको आधार हो, तर एसियाली क्षेत्रको आर्थिक समृद्धिको पूर्वाधारका रूपमा पनि यसलाई विकास गर्न आवश्यक रणनीतिहरू समिटमा प्रस्तुत गरिनेछ ।
यो पनि पढ्नुहोस्