Nepal Purbadhar

सडकपछि सेना बिजुलीको परियोजनामा छिर्‍यो, तीन सोलारका आयोजनाको लाइसेन्स लियो


काठमाडौं । नेपाली सेनाले तीन सोलार (सौर्य)का आयोजना निर्माणका गर्ने भएको छ ।

राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनासहित एक दर्जनबढी सडकको ठेक्का लिएर काम गरिरहेको सेनाले सोलारको परियोजनामा पनि हात हाल्न लागेको हो ।

नेपाली सेनाको कल्याणकारी कोषमार्फत तीनवटा सोलारका परियोजना निर्माण गर्न लागिएको छ ।  सेनाले सैनिक कल्याणकारी कोषमार्फत सैनिक कल्याणकारी सौर्य विद्युत आयोजना ब्लक नाम दिएर सैनामैनामा २३.५०० मेगावाटको तीन आयोजना बनाउन लागेको हो । पहिलो ५ मेगावाट, दोस्रो १० मेगावाट र तेस्रो ८.५ मेगावाट छ । सेनाले विद्युत विकास विभागमार्फत सर्भे लाइसेन्स लिएको छ । असारमै सर्भे लाइसेन्स लिएको हो ।

सेनाले नेपाल विद्युत प्राधिकरणसंग समेत विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने विषयमा छलफल गरिरहेको छ । प्राधिकरणसंग पीपीए गरेपछि सेनाले व्यवसायिक रुपमा यी परियोजनाबाट उत्पादन थाल्नेछ ।

नेपाली सेनाका सहायक रथी तथा सूचना अधिकारी राजाराम बस्नेतले सर्भे लाइसेन्स लिएको जानकारी दिए । ‘नेपाल सरकारको सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको वैकल्पिक ऊर्जा उत्पादनमा प्रमोट गर्ने उल्लेख छ । त्यहि आधार सम्भाव्यता अध्ययन भइरहेको छ । ऊर्जा सुरक्षाको सहयोगका लागि यी तीन आयोजना सम्भाव्यता अध्ययनको चरणमा छ ,’ उनले भने, ‘सेनाले सैनामैनाको एरियालाइन नै हेरेको छ । अध्यययनको क्रममा रहेको छ । सैनामैना रुपन्देहीको उत्तर पश्चिममा पर्छ ।

नाफामा सेनाको आँखा, खर्बौको ठेक्कापट्टामा व्यस्त!

राष्ट्रिय सुरक्षाको मूलभूत जिम्मेवारीसँग मेल नखाने आर्थिक र व्यापारिक  काममा सेना लागेको छ । जसको मुलभुत उदेश्य नाफा कमाउनु हो । व्यापारप्रतिको रुचीले सेनाको ओज घटाइरहेको छ । झण्डै १ हजार १ सय  किमीका सडकको ठेक्का पट्टाको काम सेनाले गरिसकेको छ भने एक दर्जन परियोजना अझै सहभागी छ । ३५ भन्दा बढी सडक पुलहरु निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

अहिले सेनाको व्यवस्थापनमा रणनीतिक महत्वको काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माण भइरहेको छ । जसको ४० प्रतिशत काम सकिएको छ । आगामी २०८३ चैतमा पूरा गर्ने लक्ष्य छ । करिब ७१ किमीको यो द्रुतमार्गमा ६ स्थानमा सुरुङमार्ग निर्माण भइरहेको छ । कुल १० किमीको सुरुङमार्ग निर्माण भइरहेको छ ।

२०७२ बैशाख २१ गतेको मन्त्रिपरिषद्को बैंठकले सेनाको व्यवस्थापनमा निर्माण गर्ने जिम्मा दिएको हो । त्यतिबेला नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । यसरी सेनालाई  दिने निर्णय हुँदा चौतर्फी रुपमा बहस समेत भएको थियो । यो सडक निर्माणका लागि २ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सेनाले छाउनीमा ७ हजार मानिसलाई उपचार गर्न मिल्ने गरी अस्पताल निर्माणका लागि १६ अर्ब रुपैयाँ बजेट मागेको थियो । कुनै विपत पर्दा ठूलो क्षमताको अस्पताल चाहिने भन्दै सेनाले अर्थमन्त्रालय समक्ष यस्तो प्रस्ताव केहि वर्ष पहिले नै गरेको हो ।  यद्धपी सरकारले कुनै निर्णय दिएको छैन् ।

सेनाले जलविद्युत आयोजनामा समेत लगानी गर्न खोजेको छ । जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा जलविद्युतमा लगानी गर्ने विषयमा आन्तरिक छलफल समेत भएको थियो ।

सेनाले बैंक सञ्चालन गर्न खोजिरहेको छ । यो विषयमा बेला बखतमा छलफल हुने गरेको छ । मिनरल वाटर उद्योग सञ्चालन गरिरहेको छ  । सेनाले घर जग्गामा समेत हात हालेको छ । कल्याणकारी कोषबाट चितवन, छाउनी,  इंचगुनारायणमा जग्गा खरिद गरेको छ । बहालवाला र भुतपूर्व सैनिकहरुलाई सहुलियत दरमा घरजग्गा उपलब्ध गराउने योजना  । सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरेर एमबीबीएस पढाइ सुरु गरेको छ । जसमा ७५ प्रतिशत कोटा सशुल्क छ ।

२३ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग समेत सेनाले सञ्चालन गर्न खोजेको छ । नेपाली सेनाको पोशाक आयातमा ठूलो रकम बाहिरिन्छ । सोही कारण त्यहि उद्योगमा उत्पादित कपडा पोशाकका रुपमा प्रयोग गर्ने गरी चलाउन खोजेको हो । पूर्ण सरकारी स्वामित्वको यो उद्योग २०५७ सालदेखि बन्द छ ।

पछिल्लो समय नेपाली सेना बोर्डरमाभन्दा बढी ठेक्का पट्टाका कामहरु बढी देखिन थालेको छ । सेनाको उदेश्य विपरीत सरकारले ठेक्का पट्टा र विकासका कामहरु दिइरहेको छ । यसले सेनाको ओज घटाइरहेको छ । सोही कारण बेला बखत सेनाको संख्या घटाउनुपर्ने बहसहरु हुने गरेका छन् ।


Read Previous

प्रधानमन्त्री भारत जाने भएपछि पावर समिट २०२५ को मिति सर्‍यो, अब कहिले हुन्छ ?

Read Next

थानकोट–चित्लाङ् सडक आर्थिक विकास र समृद्धीको सहयोगी–भौतिक मन्त्री दाहाल

Nepal Purbadhar