Nepal Purbadhar

रिद्धि सिद्धि सिमेन्टले ९ महिनामा कमायो ३ अर्ब ९९ करोड


काठमाडौं । नेपालका दुई व्यापारिक समूह शंकर ग्रुप र अम्बे ग्रुपको स्वामित्वमा रहेको रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ९ महिनामा ३ अर्ब ९९ करोडको व्यापार गरेको छ । 

आर्थिक वर्ष २०२५ को ९ महिनामा यो कम्पनीले ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । 

यसअघिका वर्षहरुमा हेर्दा यो कम्पनीले २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२३ मा यो कम्पनीले ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । २०२२ मा भने यो कम्पनीले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०१३ मा स्थापित भएको रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले सिमेन्ट र क्लिंकरको उत्पादन तथा बिक्री गर्ने गरेको छ । कम्पनीसँग ७ लाख ३० हजार मेट्रिक टन प्रति वर्षको क्षमताको ग्राइडिङ र ८ लाख ४० हजार मेट्रिक टनको क्लिंकर उत्पादनको क्षमता रहेको छ । कम्पनीले रिद्धि सिद्धि सिमेन्ट र मकवानपुर सिमेन्टको नाममा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री गर्ने गरेको छ । मकवानपुरको हेटौंडास्थित रातामाटेमा उत्पादन कारखाना रहेको कम्पनीले हाल आफ्नो क्लिंकर उत्पादन क्षमतामध्येको ८४ प्रतिशत क्षमता उपयोग गरिरहेको छ । 

यो कम्पनीले २०२५ को ९ महिनामा इबिट्डा मार्जिन (ब्याज, कर, मूल्यह्रास र अमूर्त सम्पत्तिको मूल्यह्रास कटौती गर्नु अघि कम्पनीले कमाएको आम्दानी) २२.३६ प्रतिशत कायम भएको छ । यसअघि २०२४ मा कम्पनीको यो मार्जिन २४.९६ प्रतिशत थियो भने २०२३ मा कम्पनीको इबिट्डा मार्जिन १८.७२ प्रतिशत कायम भएको थियो । 

२०२२ मा भने कम्पनीले १८.०३ प्रतिशत इबिट्डा मार्जिन कायम गरेको थियो । 

हालका लागि भने यो कम्पनीले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीलाई ८ अर्ब २७ करोड ५९ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माइनस र ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ । 


Read Previous

सुक्खा र खडेरीको चपेटामा मधेश, साउनको पहिलो सातासम्म भएन रोपाइँ

Read Next

बिग्ही नदीमा बनेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

Nepal Purbadhar