
काठमाडौं । वीरगञ्जमा निर्माणाधिन रहेको गोकुल अपार्टमेन्ट अक्टोबरबाट सञ्चालनमा आउने भएको छ ।
वीरगञ्जको घण्टाघरमा निर्माणाधिन रहेको गोकुल अपार्टमेन्ट मध्य अक्टोबर (असोज-कात्तिक)बाट सञ्चालनमा आउन लागेको हो । सिमरा एयरपोर्टबाट २० किलोमिटरको दुरीमा यो अपार्टमेन्ट रहेको छ ।
अनुमानित लागत १ अर्ब २४ करोड मा निर्माण भइरहेको उक्त अपार्टमेन्टको लागत कर्जा, सेयर स्वामित्व र प्रोमोटर कर्जाको ४२:११:४७ अनुपातमा रहेको छ । हालसम्म यो अपार्टमेन्ट निर्माणका लागि आवश्यक वित्तीय प्रगति ९५ प्रतिशत भएको छ ।
गोकुल अपार्टमेन्ट प्रालिले यो अपार्टमेन्ट निर्माण गरिरहेको छ । २०२० मा स्थापना भएको यो कम्पनीले ५ रोपनी क्षेत्रफलमा लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ, जसमा ४६ युनिट क्षमता रहेको छ । यसमा ४ वटा २ बेडरुम, हल र किचन, २९ वटा तीन बेडरुम, हल र किचन, ९ वटा चार बेडरुम, हल र किचन तथा ४ वटा पेन्टहाउस रहेका छन् । यो लक्जरी अपार्टमेन्टमा २४ घन्टा सिसिटिभी सुरक्षा, २ तहको पार्किङ सुविधा, हेल्थ क्लब, सामुदायिक हल, मेडिटेसन सेन्टर, सुपर मार्केट, बालबालिका खेल्ने ठाउँ, स्विमिङ पुलसमेत रहेका छन् ।
साथै यो अपार्टमेन्ट पुर्ण रुपमा फर्निस्ड रहनेछ ।
अपार्टमेन्ट निर्माण गरेको कम्पनी गोकुल अपार्टमेन्ट प्रालिमा अध्यक्षका रुपमा प्रदिप कुमार रुङ्टा रहेका छन् । उनी नारायढी टायर हाउसका समेत सञ्चालक हुन् । साथै यो कम्पनीमा कार्यकारी अध्यक्षका रुपमा सुभम रुङ्टा रहेका छन् ।