
काठमाडौं । गत आव २०८१/०८२ मा नेपालबाट निर्यात हुने वस्तु तथा सामानले ११ वर्षकै किर्तिमानी रेकर्ड राखेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आवमा २ खर्ब ७७ अर्बभन्दा धेरैको सामानहरु नेपालबाट निर्यात भएको थियो ।
सो अवधिमा नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ । कुल ५० करोड केजी सोयाबिन निर्यात हुँदा यसको निर्यात मूल्य भने १ खर्ब ६ अर्ब ७९ करोड ८ लाख रुपैयाँ रहेको छ । ५० करोड ९९ लाख केजी सोयाबिन तेल भारत निर्यात भएको हो ।
त्यस्तै, अत्याधिक निर्यात भएको अर्को वस्तुमा सनफ्लावरको दाना तथा तेल रहेको छ । भारततर्फ ५ करोड ३२ लाख ३५ हजार लिटर निर्यात भएको यो वस्तुको निर्यात मूल्य १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
नेपालबाट तेस्रो नम्बरमा ठूलो अलैंची रहेको छ । भारततर्फ अलैंची ४२ लाख ९४ हजार केजी निर्यात भएको अलैंचीको निर्यात मूल्य ७ अर्ब ६७ लाख ४० हजार रुपैयाँ रहेको छ ।
चौथोमा भने नेपालबाट कार्पेट तथा अन्य टेक्सटायलका वस्तुहरु रहेका छन् । नेपाली कार्पेट ३ लाख १४ हजार वर्ग मिटर अमेरिकामा निर्यात हुँदा यसबाट ६ अर्ब ६० करोड ४७ लाख रुपैयाँ नेपाल भित्रिएको छ ।
नेपालबाट अत्याधिक निर्यात हुने पाँचौं वस्तुमा ब्लिच नगरिएको जुटलगायतको फ्याब्रिक रहेको छ । भारततर्फ ११ करोड ८३ लाख ९४ हजार वर्ग मिटर निर्यात भएको यो वस्तुको निर्यात मूल्य भने ५ अर्ब ६९ करोड १ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले ११ वर्षकै धेरै वस्तु तथा सामानको निर्यात गर्दा नेपालले १२ महिनामा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आव २०८१/०८२ को निर्यातमा ८१.८० प्रतिशतले बृद्धि भएको छ । यसअघि २०७८/०७९ मा नेपालले किर्तिमानी २ खर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
आव २०८१/०८२ मा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराकरको वस्तु तथा सामान नेपालमा आयात भएको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा गत आव २०८१/०८२ मा १३.२५ प्रतिशतले आयातमा बृद्धि भएको हो ।
गत आव २०८१/०८२ मा नेपालको कुल वैदेशिक व्यापार भने २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको विभागको तथ्यांकल देखाएको छ । सोही अवधिमा नेपालको कुल व्यापार घाटा भने १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपयाँ रहेको छ ।