Nepal Purbadhar

भारतीय कम्पनी एनटीपीसी लिमिटेड नेपालको सोलारमा लगानी गर्न इच्छुक, १०० मेगावाटको ब्याट्री स्टोरेज प्रोजेक्ट बनाउने


काठमाडौं । भारतीय कम्पनी एनटीपीसी लिमिटेड (नेशनल थर्मल पावर कर्पोरेशन) ले नेपालमा सोलार परियोजनामा लगानी गर्न इच्छा देखाएको छ ।

विद्युत उत्पादन कम्पनीसँग सयुक्त लगानीमा १०० मेगावाटसम्मको सोलार परियोजनामा  लगानी गर्न इच्छा देखाएको हो ।  ‘हामीलाई एनटीपीसीबाट लगानी गर्न इच्छा भएको जानकारी आयो । हामीले उक्त जानकारीपछि औपचारिक प्रस्ताव मागेका छौं,’ विद्युत उत्पादन कम्पनीका एक उच्च अधिकारीले भने, ‘हामीले एक पल्ट ऊर्जा मन्त्रालयसँग छलफल गर्नेछौं । त्यसपछि निर्णय हुन्छ ।’

एनटीपीसीले नेपालमा लामो समयदेखि जलविद्युतमा लगानी गर्न खोजिरहेको छ । तर सरकारले स्वीकृति नदिएका कारण अहिलेसम्म लगानी गर्न पाएको छैन् । यस अघि नेपालमा हुने अन्तर्राष्टिय लगानी सम्मेलनमा समेत उसले इच्छा देखाउने गरेको छ ।

स्रोतका अनुसार दैलेखमा ३० मेगावाटको एउटा आयोजना पहिचा भएको छ । वनको केहि जग्गा लिन सक्ने हो भने त्यो आयोजनाबाट ६० मेगावाटसम्म उत्पादन हुन सक्छ ।  सोही आयोजनामा लगानी गर्ने विषयमा दुईपक्षबीच छलफल हुनेछ । ‘हामीले दैलेखमा सोलारको परियोजना पहिचान गरेका छौं । त्यो उत्पादित बिजुली दैलेखमा उत्खनन गर्न लागिएको पेट्रोलियम पदार्थको परियोजनाको लागि समेत उपयोगी हुन्छ,’ स्रोतले भन्यो, ‘नेपाल विद्युत प्राधिकरणले पीपीएमा सहजीकरण गरिदिने प्रतिवद्धता जनाएको छ ।’

बुटवल पावर कम्पनी लिमिटेडको बिजुली बजारस्थित भवनको पहिलो तलामा विद्युत उत्पादन कम्पनीको कार्यालय छ ।

विद्युत उत्पादन कम्पनी ठूला ठूला जलविद्युतका परियोजनाहरु निर्माण गर्ने भन्दै स्थापना भएको हो । तर ठूला आयोजनाहरुमा तत्काल लगानी जुटाउन सक्ने अवस्था नभएपछि कम्पनीले सोलारको परियोजना निर्माण गर्न लागेको हो । तर सोलारको परियोजनामा प्राधिकरणले टेण्डर निकालेपछि प्रतिस्पर्धा गरेर मात्रै पीपीए गर्न सकिने व्यवस्था छ । सोही कारण सोलारमा समेत कम्पनीले काम गर्न सकेको थिएन । सरकारी कम्पनी भएका कारण पीपीएमा सहजीकरण हुने भएपछि कम्पनीले परियोजनाम अघि बढाउने तयारी गरेको हो ।

एनपीटीसी त्यो कम्पनीले हो जसले ८२ हजार ८३६ मेगावाट जडित क्षमताका विद्युत आयोजनाहरु निर्माण गरिसकेको छ । यो कम्पनीले नेपालमा ब्याट्री स्टोरेज सोलार आयोजना निर्माण गर्न लागेको हो ।

विद्युत उत्पादन कम्पनीले ४८० मेगावाटको फुको कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना अध्ययन पूरा गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा एनएचपीसी लिमिटेडलाई यो आयोजना दिइएको छ । अहिले मुद्धा परेका कारण कुनै काम अघि बढ्न सकेको छैन् ।

एनएचपीसीको ५१ र विद्युत उत्पादन कम्पनीकझो ४९ प्रतिशत सेयर रहने गरी नयाँ कम्पनी खडा गरेर आयोजना बनाउने एमओयुमा उल्लेख छ । तर मुद्धाका कारण ठोस काम अघि बढ्न सकेको छैन् । यो आयोजना निर्माणका लागि ९२ अर्ब ३ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

कम्पनीले ४५४ मेगावाटको किमाथांका अरुणको विस्तृत अध्ययन सकेको छ। ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । लगानीको मोडालिटी नटुंगिएका कारण यो आयोजना अघि बढ्न सकेको छैन् ।

१९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन चलिरहेको छ ।

किमाथांका अरुण जलविद्युत आयोजना निर्माण स्थल ।

४ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको यो परियोजनामा भारतीय कम्पनीहरुले लगानी गर्ने इच्छा देखाएका छन् । यस अघि आन्तरिक रुपमा लगानी जुटाउन विज्ञापन निकालिएको भएपनि विवादित भएपछि रोकिएको थियो ।


Read Previous

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बर बढीले बढ्यो

Nepal Purbadhar