
काठमाडौं । मोरङको बिराटनगर नगरपालिकामा पाँच तारे द एक्सिस होटल निर्माण हुने भएको छ ।
एक्सिस हस्पिटालिटी प्रालिले बिराटनगर नगरपालिकाको वडा नम्बर ६ स्थित ब्रम्हापुरामा ‘द एक्सिस होटल’ नाममा पाँच तारे होटल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको हो ।
यो होटल ४ बिघा १३ कठ्ठा १९.९९ धुरमा निर्माण गर्ने गरि प्रस्ताव गरिएको छ, जसमध्ये होटलको भवनहरुले ओगट्ने क्षेत्रफल भने कुल जग्गाको २३.३९ प्रतिशत अर्था ७४४७.०७ वर्ग मिटर रहेको छ ।
होटलको भवनहरुको तल्लाको कुल क्षेत्रफल २७ हजार ४८२.५७६ वर्ग मिटर हुनेछ । होटलमा कुल ४ वटा भवन बन्ने र कुल कोठा संख्या २१५ वटा हुने प्रतिवेदनमा उल्लेख छ । साथै होटलमा रहने कुल शय्या संख्या ३५० वटा रहनेछ । यसका साथै होटलमा रेष्टुरेण्ड, स्विमिङ्ग पुल, बार, जिम, ब्युटीपार्लर, साउना, सेमिनार हल, बेङक्वेट हल, मिटिङ हललगायतका सेवासुविधा रहने प्रतिवेदनमा उल्लेख छ ।
पाँच तारे होटलका रुपमा निर्माण तथा सञ्चालन गर्ने उद्देश्य राखिएको द एक्सिस होटलमा १०० वटा चार पाङ्ग्रे तथा १५० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने क्षमतासहितको पार्किङ स्थल निर्माण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो होटल रहेको स्थान नेपाल र भारतको सिमानामा रहेको जोगवनी नाकाबाट करिब ७ किलोमिटर उत्तरतर्फ रहेकाले होटललाई मुख्य गरि भारतबाट नेपाल आउने पर्यटक केन्द्रित भएर निर्माण गर्न लागिएको हो ।
यो होटल निर्माणका लागि अनुमानित लागत भने डेढ अर्ब रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।