
काठमाडौं । प्रविधिसम्बन्धी विश्वकै सबैभन्दा ठूलो कम्पनी गुगलले स्वच्छ ऊर्जा (क्लिन इनर्जी)मा चार खर्ब १२ अर्ब चार करोड रुपैयाँ (३ अर्ब अमेरिकी डलर) लगानी गर्न लागेको हो ।
अमेरिकामा डेटा सेन्टर विस्तारका आवश्यक पर्ने स्वच्छ ऊर्जा सुनिश्चित गर्न गुगलले अहिलेसम्मकै ठूलो जलविद्युत कर्पोरेट सम्झौता गरेको हो । गुगलको यो कदमलाई ऐतिहासिक स्वच्छ ऊर्जा सम्झौताका रुपमा हेरिएको छ ।
गुगलले ब्रुकफिल्ड एसेट म्यानेजमेन्ट नामक कम्पनीसँगको सहकार्यमा ३ गिगावाटसम्मको विद्युत सुनिश्चित गरेको छ । यसअन्तर्गत अमेरिकाको पेनसिलभेनियास्थित दुई जलविद्युत आयोजनाबाट प्राप्त हुने विद्युतका लागि २० वर्षे खरीद सम्झौता (पिपिए) गरिनेछ ।
साथै, गुगलले आगामी दुई वर्षभित्रमा पेनसिलभेनिया तथा आसपासका राज्यहरुमा डेटा सेन्टर निर्माणका लागि २५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ ।
कम्पनीले एआई र क्लाउड कम्प्युटिङको माग बढेसँगै विद्युतको खपत पनि बढिरहेका कारण सफा तथा दीर्घकालिन स्रोतहरुमा निर्भर भएर प्रविधिलाई अघि बढाउने बताएको छ ।