
काठमाडौं । ‘ए’ क्लासको निर्माण कम्पनी समानान्तर निर्माण सेवा प्रालिले एक वर्षमा १ अर्ब ७१ करोडको व्यापार गरेको छ ।
२०२४ मा यो कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँको व्यापार गरेको हो । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कम्पनीको व्यापारमा गिरावट आएको छ ।
२०२२ मा कम्पनीले ३ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ मा कम्पनीको व्यापारमा गिरावट भएर २ अर्ब ६६ करोड २० लाख रुपैयाँको व्यापार भएको थियो । २०२४ मा भने कम्पनीको व्यापार १ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।
२००९ मा खुलेको समानान्तर निर्माण सेवा प्रालि काठमाडौंमा रहेको ‘ए’ क्लासको निर्माण कम्पनी हो । विभिन्न अन्य कम्पनीसँगको संयुक्त ठेक्का तथा एकल ठेक्का मार्फत यो कम्पनीले भवन, सडक तथा पानी व्यवस्थापनका परियोजनाहरुमा काम गर्दै आएको छ ।
यो कम्पनीको बोर्डमा भने चार जना रहेका छन्, जसको अध्यक्षता अच्युत प्रसाद खरेलले गरेका छन् ।
हालका लागि भने यो कम्पनीले ११ अर्ब ६६ करोड ११ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । उक्त रकम मध्ये ६ करोड ८३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि कम्पनीलाई केयर रेटिङ नेपालले त्रिपल बि र ११ अर्ब ५९ करोड २७ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि कम्पनीलाई ए त्रि प्लस रेटिङ दिएको छ ।