Nepal Purbadhar

साओमीको नयाँ इलेक्ट्रिक एसयुभी वाईयु-७, ७२ घण्टामै ३ लाखभन्दा बढी अर्डर


एजेन्सी ।  चीनको प्रतिस्पर्धात्मक इलेक्ट्रिक गाडी बजारमा फोन निर्माता साओमीको नयाँ एसयुभी वाईयु-७ ले धमाकेदार सुरुवात गरेको छ।

सार्वजनिक भएको ७२ घण्टाभित्रै २ लाख ८० हजारदेखि ३ लाख १५ हजारसम्म ‘लक-इन अर्डर’ परेको अनुमान गरिएको छ। यो अर्डर संख्या साओमीका ३५१ वटा ईभी स्टोरहरूमा आएको हो, जसमा अनलाइन अर्डरहरू समावेश गरिएको छैन।

कम्पनीका अनुसार हरेक स्टोरमा औसत ८०० देखि ९०० अर्डर परेका छन्। स्टोरमा आउने ग्राहकहरूमध्ये ७५% देखि ८०% ले गाडी बुकिङ गरेका छन् । करिब ९०% ग्राहकहरू वाईयु-७  हेर्नै स्टोर आएका थिए।

सुरुको १८ घण्टामै २ लाख ४० हजार अर्डर

साओमीले आधिकारिक रूपमा जानकारी दिँदै लन्चको १८ घण्टाभित्र २ लाख ४० हजारभन्दा बढी ‘लक-इन अर्डर’ प्राप्त भएको पुष्टि गरिसकेको छ। उक्त तथ्याङ्कमा अनलाइन अर्डरहरू पनि समावेश छन् ।

कुन संस्करण धेरै रोजियो?

वाईयु-७  को तीन संस्करण बजारमा उपलब्ध छन्, जसमा सबैभन्दा बढी रुचाइने संस्करण वाईयु-७ बेस रहेको छ।

•             वाईयु-७ बेस (मूल्य: ¥253,500 / करिब ३५ हजार डलर): ५५% अर्डर

•             वाईयु-७ प्रो (¥279,900 / करिब ३८,६०० डलर): २५% अर्डर

•             वाईयु-७ म्याक्स (¥329,900 / करिब ४५,५०० डलर): २०% अर्डर

ग्राहकहरूले औसतमा १५,००० देखि २०,००० युआन (करिब २ हजार डलर) अतिरिक्त अप्शनल सुविधाहरूका लागि थप खर्च गरिरहेका छन् ।

इलेक्ट्रिक भेहिकल बजारमा साओमीको बढ्दो पकड

साओमीको इलेक्ट्रिक कार बजार प्रवेश एसयुभी मार्फत सुरू भएको थियो, जसले चर्चा र बिक्री दुवैमा सफलता हासिल गरेको थियो। अब वाईयु-७  ले पनि छोटो अवधिमा व्यापक रुचि पाएको देखिन्छ, जसले साओमीको ईभी रणनीति सफल बन्दै गएको संकेत गर्छ ।

साओमीको टेक्नोलोजी ब्रान्डिङ, प्रतिस्पर्धात्मक मूल्य र आकर्षक डिजाइनले वाईयु-७  लाई चीनको ईभी बजारमा प्रमुख स्थानमा पुर्‍याउने सम्भावना देखिएको छ ।


Read Previous

मनिपाल अस्पतालले कमायो १० महिनामा १ अर्ब ८४ करोड