
काठमाडौं । कास्की जिल्लाको पोखरामा रहेको मनिपाल अस्पताल सञ्चालन गर्ने नेपाल मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्रालिले १० महिनामा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले २०२५ को सुरुवाती १० महिनामा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीको यसअघिको व्यापार हेर्दा २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा कम्पनीले १ अर्ब ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२४ मा भने कम्पनीले १ अर्ब ८८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
२०२५ मा भने सुरुवाती १० महिनामा कम्पनीले १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
१९९४ मा पोखरामा सुरु भएको यो कम्पनी पहिला मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल)का रुपमा सञ्चालनमा थियो भने २०२३ मा कम्पनीलाई बापो होल्डिङ नामक कम्पनीसँग मर्ज गरिएको थियो ।
५ सय बेड श्यया क्षमता रहेको यो अस्पताल सञ्चालन गरिरहेको कम्पनीले एमबिबिएस, बिएससि नर्सिङ लगायतका कोर्सहरु पनि सञ्चालन गरिरहेको छ । हाल कम्पनीको स्वामित्व अटोवेज ग्रुपसँग ८३ प्रतिशत र बतास ग्रुपसँग १७ प्रतिशत क्षमता रहेको छ ।
हालका लागि भने यो कम्पनीले २ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब ९५ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ५ करोडको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।